चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आन्दोलन, दोषीलाई कारबाही नभएसम्म ओपिडी सेवा बन्द
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन सुरु गरेको छ।
संघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, चिकित्सकको सुरक्षा सुनिश्चित गर्न र विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। आन्दोलनअन्तर्गत देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ भने नारायणी अस्पतालमा आपत्कालीन सेवा समेत प्रभावित भएको जनाइएको छ। संघका पदाधिकारीहरूले सरकारबाट माग सम्बोधन भए आन्दोलन तत्काल फिर्ता हुने बताएका छन्।
चिकित्सकहरूले कार्यस्थलमा हुने कुटपिट, दुर्व्यवहार, गालीगलौज र सामाजिक सञ्जालमा हुने चरित्रहत्याले सुरक्षित वातावरणमा सेवा दिन कठिन भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।