बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ नाटक मञ्चन

budhanilkantha-school-falame-gate-natak-2

बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ चार दिनसम्म मञ्चन गरिएको छ। विद्यालयको नेपाली विभागको आयोजनामा साउन १९ गतेदेखि मञ्चन गरिएको नाटकमा बाल्यकालको निष्कलुष आत्मीयतादेखि वर्गीय विभाजन, आर्थिक असमानता, पारिवारिक सम्बन्ध, उपभोक्तावादी सोच र मानिसभित्रका मनोसामाजिक द्वन्द्वसम्मका विषयलाई प्रस्तुत गरिएको छ। प्रेमनारायण भुसालको लेखन तथा मुख्य निर्देशनमा तयार भएको नाटकमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कलाकार, सहायक कलाकार र कोरसको सहभागिता रहेको थियो।

नाटकमा आयुष र महेशमार्फत समाजका फरक वर्ग तथा जीवनदृष्टिलाई प्रस्तुत गरिएको छ। धन, शक्ति र भौतिक सम्पन्नतालाई सफलताको आधार मान्ने आयुष र श्रम, नैतिकता, बौद्धिकता तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने महेशबीचको वैचारिक दूरी नाटकको मुख्य द्वन्द्व बनेको छ। ‘फलामे गेट’लाई वर्गीय दूरी, सामाजिक विभेद, पूर्वाग्रह र मानिसबीच निर्माण हुने मानसिक पर्खालको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

नाटकको प्रयोगधर्मी मञ्च संरचनाले दर्शकलाई समेत कथाको वैचारिक यात्रामा सहभागी गराएको थियो। नाटकले बालबालिकाका लागि भौतिक सुविधा मात्र पर्याप्त नभई प्रेम, समय, शिक्षा, असल संस्कार, नैतिकता र मानवीय संवेदनाको आवश्यकता हुने सन्देश दिएको छ। चार दिनको मञ्चनमा विद्यार्थी, शिक्षक, अभिभावक, साहित्य अनुरागी तथा विभिन्न विद्यालयका करिब ४५० विद्यार्थी र शिक्षकले नाटक अवलोकन गरेका थिए।

समापन कार्यक्रममा शिक्षा, मनोविज्ञान, साहित्य तथा रङ्गमञ्चका क्षेत्रमा योगदान पुर्याएको भन्दै लेखक तथा मुख्य निर्देशक प्रेमनारायण भुसाललाई विद्यालयले अभिनन्दन गरेको थियो। सहभागी दर्शकले ‘फलामे गेट’लाई समसामयिक, सान्दर्भिक र भावनात्मक नाटकका रूपमा प्रतिक्रिया दिएका थिए।