निम्स दाइको शव जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत ल्याउने प्रयास
काठमाडौं। ब्रोड पिकमा खटिएको स्थल उद्धार टोली करिब ५,७०० मिटर उचाइमा रहेको प्रख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को स्थानसम्म पुगेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार सोही ठाउँबाट थप तीनवटा शव फेला परेको भए पनि पहिचान अझै पुष्टि हुन बाँकी छ।
स्कर्दु पुगेका वरिष्ठ पर्वतारोही मिङ्मा डेभिड शेर्पाका अनुसार अत्यन्त कठिन अवस्थामा उद्धार अभियान चलिरहेको र टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको छ। हाल रहेको स्थानबाट शव क्याम्प-१ मा र त्यसपछि भोलि जापानी क्याम्पसम्म ल्याइने योजना छ। मौसम अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकोप्टर प्रयोग गरिने सम्भावना छ।
भिरालो र प्राविधिक रूपमा कठिन भूभाग तथा थप हिमपहिरोको जोखिमका कारण उच्च उचाइबाट प्रत्यक्ष हेलिकोप्टर उद्धारको विकल्प अस्वीकार गरिएको छ। मौसम ठिक रहे सोमबारसम्म शव जापानी क्याम्पमा पुर्याइने र त्यसपछि पाकिस्तानी सेनाका हेलिकोप्टर प्रयोग गरी उपत्यकातर्फ ल्याइने योजना रहेको बताइएको छ।
निम्सदाइ फाउन्डेसनले शनिबार नै ब्रोड पिकको हिमपहिरोमा परी निर्मल पुर्जाको निधन भएको र सोही दुर्घटनामा अभियानका अन्य सदस्यको पनि मृत्यु भएको पुष्टि गरिसकेको छ। आधिकारिक विवरणअनुसार दुर्घटना बिहीबार करिब ६,६०० मिटर उचाइमा भएको थियो। ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहण गर्दै गरेको १० सदस्यीय टोलीसँग बिहीबार बिहान सम्पर्क टुटेको र साँझ हिमपहिरो गएको खबर सार्वजनिक भएको थियो।
नेपाल सरकारले यस दुर्घटनामा दुःख व्यक्त गर्दै निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ। परराष्ट्र मन्त्रालयले उद्धारमा खटिएका पाकिस्तानी र नेपाली टोलीको साहसिक कार्यको प्रशंसा गर्दै पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको र बाँकीको खोजी जारी रहेको बताएको छ। शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली दूतावासबाट सहजीकरण भइरहेको छ।