बीपीसी बन्यो दक्षिण एसियामै व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने पहिलो शिक्षण केन्द्र
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी)ले बेलायतको युनिभर्सिटी अफ लन्डनबाट स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने मान्यता प्राप्त शिक्षण केन्द्रको दर्जा हासिल गरेको छ ।
यसैसँगै बीपीसी दक्षिण एसियामै स्नातक र स्नातकोत्तर दुवै व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने एकमात्र मान्यता प्राप्त शिक्षण केन्द्र बनेको छ ।
कलेजका अनुसार यो कार्यक्रम विशेषगरी चार्टर्ड प्रमाणित लेखापाल संघ (एसीसीए)का विद्यार्थी, आबद्ध सदस्य तथा सदस्यहरूलाई लक्षित गरी तयार गरिएको हो, जसमार्फत विद्यार्थीले एसीसीएको अध्ययन निरन्तरता दिँदै युनिभर्सिटी अफ लन्डनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्नातक उपाधि पनि हासिल गर्न सक्नेछन् ।
एसीसीएअन्तर्गत पहिले नै उत्तीर्ण गरिएका केही विषयलाई मान्यता दिइने भएकाले विद्यार्थीले करिब एक वर्षभित्रै स्नातक उपाधि पूरा गर्न सक्ने व्यवस्था मिलाइएको छ । किफायती शुल्क, लचिलो अध्ययन प्रणाली र पेशागत कार्यसँगै अध्ययन निरन्तरता दिन मिल्ने सुविधा पनि उपलब्ध गराइएको छ ।
विद्यार्थीले नेपालमै बसेर प्रत्यक्ष कक्षा वा अनलाइन माध्यमबाट अध्ययन गर्न सक्नेछन् । कार्यक्रममा वित्तीय व्यवस्थापन, कार्यसम्पादन व्यवस्थापन र अनुसन्धान परियोजना समावेश गरिएको छ, जसले विद्यार्थीको विश्लेषणात्मक र व्यावसायिक सीप विकासमा योगदान गर्ने कलेजले जनाएको छ । वित्तीय व्यवस्थापन र कार्यसम्पादन व्यवस्थापन विषय सफलतापूर्वक पूरा गरेपछि विद्यार्थीले एसीसीएका सम्बन्धित परीक्षामा थप शुल्क नतिरी छुट पाउने व्यवस्था पनि गरिएको छ ।
कार्यक्रमअन्तर्गत विद्यार्थीले कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन सहयोगी सेवा पनि पाउनेछन्, जुन चौबीसै घण्टा उपलब्ध रहनेछ र विषयवस्तु बुझ्न, ज्ञान परीक्षण गर्न तथा अध्ययन योजना बनाउन सघाउने जनाइएको छ ।
यस उपलब्धिबारे प्रतिक्रिया दिँदै ब्रिटिश एजुकेशन ग्रुपका व्यावसायिक शिक्षातर्फका प्रमुख दिपेन्द्र के.श्रेष्ठले यो मान्यता नेपाली विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । एउटै संस्थाबाट युनिभर्सिटी अफ लन्डनको स्नातक तथा स्नातकोत्तर उपाधिसँगै एसीसीएको व्यावसायिक योग्यता समेत हासिल गर्न सकिने वातावरण बनेको उनले उल्लेख गरे । एक वर्षमै उपाधि पूरा गर्न सकिने व्यवस्था, एकीकृत अध्ययन प्रणाली र कृत्रिम बुद्धिमत्तामा आधारित सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।
वि.सं. २०६८ (सन् २०११) मा स्थापना भएको ब्रिटिश प्रोफेशनल कलेजले बेलायतका प्रतिष्ठित शैक्षिक संस्थासँगको सहकार्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा प्रदान गर्दै आएको छ । नयाँ कार्यक्रम थपिएसँगै विश्वस्तरीय शिक्षा, सीपमूलक अध्ययन र रोजगारीमुखी योग्यतामार्फत नेपाली विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने आफ्नो अभियान थप सुदृढ भएको कलेजले जनाएको छ ।