रसुवा बाढीमा १ हजार ३५५ शव फेला पर्दा ४ हजार ९९६ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत कार्यलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ ।
प्राधिकरणका अनुसार फेला परेका १ हजार ३५५ शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका शव परिवारलाई बुझाइएको जनाइएको छ । बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन् ।
नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, चितवनमा १६३, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेको प्राधिकरणको विवरणमा उल्लेख छ ।
सम्पर्कविहीन हुनेहरूमा नुवाकोट जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार करिब २ हजार ३४० जना रहेका छन् । त्यस्तै रसुवाबाट १ हजार ९६७ जना तथा ५८९ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । सुरक्षाकर्मी तथा कर्मचारीतर्फ पनि करिब १०० जना सम्पर्कविहीन रहेको जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ । प्राधिकरणले प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिँदै उद्धार तथा राहतका गतिविधि तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ ।