भोटेकोशी बाढीबाट १७ हजार बालबालिका प्रभावित

bhotekoshi-flood-affects-17000-children

भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै करिब १७ हजार बालबालिकाको जीवन प्रभावित बनाएको छ । प्रारम्भिक अनुमानअनुसार बाढी तथा त्यसपछिका घटनामा करिब ७८८ जनाको मृत्यु भइसकेको छ भने मृतकमध्ये कम्तीमा १४ जना बालबालिका रहेका छन् । सयौं व्यक्ति अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी रहँदा मृतक तथा प्रभावितको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । युनिसेफका अनुसार बाढी प्रभावित क्षेत्रका बालबालिकाले आफ्नै आँखाअगाडि घर, परिवार, विद्यालय र समुदाय बगाएको देखेका छन् । यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ ।

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाका अनुसार रसुवा र धादिङका धेरै बालबालिकाले आफन्त तथा प्रियजन गुमाएका छन् भने उनीहरूका घर, कक्षाकोठा र स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन् । बाढीबाट बचेका बालबालिकाले अब रोग, कुपोषण, हिंसा र शोषणको बढ्दो जोखिम सामना गर्नुपर्ने अवस्था रहेको युनिसेफले जनाएको छ । अचानक आएको बाढीले कतिपय बस्ती पूर्ण रूपमा बगाएको र कतिपय क्षेत्रसँगको सम्पर्क विच्छेद भएकाले प्रभावित क्षेत्रमा राहत तथा जीवनरक्षक सामग्री पुर्याउनसमेत कठिनाइ भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली तथा दूरसञ्चार संरचनामा पुगेको क्षतिका कारण प्रभावित समुदायको दैनिक जीवन थप कठिन बनेको छ । बाढीबाट कम्तीमा चार स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने दूषित पानी र सरसफाइको अभावका कारण बालबालिकामा विभिन्न रोगको जोखिम बढेको छ । बाढीले शिक्षामा समेत ठूलो असर पारेको छ ।

युनिसेफका अनुसार १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने थप २० विद्यालयमा क्षति पुगेको छ । नदी किनारमा रहेका दर्जनौं विद्यालय अझै जोखिममा छन् । करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ । उनीहरूका लागि अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री तथा बालबालिका र शिक्षक दुवैका लागि मनोसामाजिक सहयोग आवश्यक देखिएको छ । बाढी प्रभावित बालबालिकाको स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, शिक्षा तथा बाल संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल सरकार र मानवीय साझेदारसँगको समन्वयमा युनिसेफले सहयोग बढाइरहेको छ । प्रभावित क्षेत्रमा चिकित्सा पाल, झुल, नवजात शिशुका लागि आवश्यक सामग्री तथा तीव्र कुपोषण भएका बालबालिकाका लागि उपचारात्मक खाना पठाउने तयारी गरिएको छ भने हजारौं परिवारलाई आपत्कालीन स्वच्छता किट वितरण गरिएको छ । मानसिक रूपमा प्रभावित बालबालिकाका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग टोली परिचालन गरिएको छ ।

परिवारबाट छुट्टिएका वा हराएका बालबालिकाको पहिचान, दर्ता तथा परिवारसँग पुनर्मिलनका लागि समेत काम भइरहेको युनिसेफले जनाएको छ । प्रभावित परिवारलाई तत्कालका आधारभूत आवश्यकता पूरा गर्न आपत्कालीन नगद सहायता उपलब्ध गराउने विषयमा पनि युनिसेफले नेपाल सरकारसँग समन्वय गरिरहेको छ । बाढीमा घाइते भएका बालबालिकाको अवस्था पनि चिन्ताजनक रहेको छ । विभिन्न स्थानबाट उद्धार गरिएका ७६ जना घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रहेकामा नौ जना १८ वर्षमुनिका बालबालिका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अर्घाखाँचीकी चार वर्षीया मनिषा उचाई, धादिङकी पाँच वर्षीया ईशारा तामाङ, नुवाकोटकी ६ वर्षीया विनिसा डंगोल, ११ वर्षीया वविसा डंगोल र १७ वर्षीया स्मृति ओझाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा रसुवाका ६ वर्षीय आयुष तामाङ, ८ वर्षीय जोवल घले तथा धादिङका १५ वर्षीय सबिन मग्राती उपचाररत छन् । रसुवा गोसाइँकुण्डकी १४ वर्षीया दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । बाढी प्रभावित बालबालिकाको वास्तविक अवस्था र यकिन संख्या पहिचान गर्न भने चुनौती देखिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार प्रभावित स्थानीय तहमा कार्यरत बाल कल्याणकारी संस्था तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय हुन नसक्दा कतिपय स्थानबाट आवश्यक विवरण संकलन गर्न कठिन भएको छ । कतिपय क्षेत्रमा सम्पर्कसमेत स्थापित हुन नसकेको परिषद्ले जनाएको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार प्रभावित बालबालिकाको यकिन तथ्यांक संकलन गर्न केही समय लाग्नेछ ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत तथा उद्धारका काम अघि बढाइरहेको छ । युनिसेफले आपत्कालीन प्रतिकार्यलाई निरन्तरता दिन तथा प्रारम्भिक पुनर्लाभमा सहयोग पुर्याउन १ करोड ७२ लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । तत्काल र लचिलो आर्थिक स्रोत उपलब्ध हुन नसके बालबालिका तथा महिलालाई स्वास्थ्य, पोषण, सुरक्षित पानी, शिक्षा, बाल संरक्षण तथा सामाजिक सुरक्षाका सेवा उपलब्ध गराउने क्षमता सीमित हुने युनिसेफले चेतावनी दिएको छ । बाढीपछि तत्कालीन उद्धार र राहतसँगै बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा, पोषण तथा मानसिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

भौतिक संरचनाको पुनर्निर्माणसँगै बाढीले बालबालिकाको जीवनमा पारेको दीर्घकालीन असर सम्बोधन गर्न नसके विपद्को प्रभाव उनीहरूको भविष्यसम्म फैलिन सक्ने जोखिम रहेको छ ।