बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवामध्ये करिब ९५ प्रतिशत पुनःस्थापना भइसकेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीका कारण अवरुद्ध सञ्चार सेवा प्रभावित क्षेत्रको दोस्रो दिनदेखि नै पुनःस्थापनाको काम सुरु गरिएको बताए। उनका अनुसार हालसम्म ९५ प्रतिशत सञ्चार सेवा सञ्चालनमा आइसकेको छ।
सञ्चार सेवाको पहुँच पुग्न नसकेका दुर्गम तथा प्रभावित स्थानमा भने ३० वटा स्याटेलाइट फोनमार्फत सम्पर्क तथा समन्वय भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए।
उनका अनुसार बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा रहेका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ।
जलविद्युत् आयोजनामा ठूलो क्षति
प्रधानमन्त्री शाहका अनुसार बाढीबाट विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजनामा कुल २८१ मेगावाट क्षति पुगेको छ। त्यस्तै, निर्माणाधीन ४ वटा जलविद्युत् आयोजनामा थप ३८८ मेगावाट क्षति पुगेको उनले बताए।
क्षतिग्रस्त आयोजनामध्ये केही आयोजना मात्र मर्मत तथा पुनःस्थापना गर्न सकिने अवस्था रहेको र त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने प्रारम्भिक अवस्था देखिएको प्रधानमन्त्री शाहको भनाइ छ।
बाढीका कारण कुल ४ हजार ३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको पनि उनले प्रतिनिधिसभालाई जानकारी दिए।
नुवाकोट, धादिङ र रसुवामा विद्युत् सेवा पुनःस्थापना
बाढीबाट प्रभावित जिल्लामा वैकल्पिक प्रसारण तथा वितरण व्यवस्थामार्फत विद्युत् सेवा क्रमशः पुनःस्थापना भइरहेको प्रधानमन्त्री शाहले बताए।
उनका अनुसार:
- नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिएको छ।
- धादिङमा ५८ प्रतिशत विद्युत् सेवा पुनःस्थापित भएको छ।
- रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापित भएको छ।
प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित बनाउन वैकल्पिक प्रसारण व्यवस्थाको प्रयोग भइरहेको उनले बताए।
उद्धार र प्राविधिक काममा विदेशी विज्ञ टोली परिचालन
बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा उद्धार, क्षति मूल्यांकन र आवश्यक प्राविधिक कामका लागि विभिन्न देशका विज्ञ टोली परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए।
उनका अनुसार भारत, चीन र कोरियाका विज्ञ टोली जलविद्युत् आयोजना क्षेत्रमा उद्धार तथा आवश्यक प्राविधिक कार्यमा खटिएका छन्।
भोटेकोशी बाढीले सञ्चार, विद्युत् प्रसारण तथा उत्पादन संरचनासँगै जलविद्युत् र सौर्य परियोजनामा समेत ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा सेवा तथा पूर्वाधार पुनःस्थापनाको काम तीव्र पारिएको सरकारले जनाएको छ।