भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित श्रमिकको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा सरकार प्रभावकारी रूपमा परिचालन हुन नसकेको आरोप लगाएको छ।
विपद्पछि बुधबार जारी गरिएको दोस्रो प्रेस विज्ञप्तिमार्फत एनटीयूसीले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतलाई तीव्र बनाउन सरकारसँग माग गरेको हो।
महासंघका अनुसार जलविद्युत् आयोजना, यातायात, निर्माण, पर्यटनलगायत क्षेत्रमा कार्यरत श्रमिकहरू विपद्बाट विशेष रूपमा प्रभावित भएका छन्।
१ हजार १ सय १४ जनाको मृत्यु भएको दाबी
एनटीयूसीले आफ्नो विज्ञप्तिमा हालसम्म १ हजार १ सय १४ जनाको मृत्यु भएको र हजारौं मानिस अझै बेपत्ता रहेको दाबी गरेको छ। बेपत्ता व्यक्तिको खोजी जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने महासंघको भनाइ छ।
विज्ञप्तिअनुसार विपद्बाट करिब १६ लाख मानिस प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सडक, पुल, विद्युत्, सञ्चार, जलविद्युत् आयोजना, आवासलगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेको एनटीयूसीले जनाएको छ।
सुरुङमा श्रमिक फसेको दाबी
एनटीयूसीले जलविद्युत् आयोजनाका सुरुङभित्र करिब ९ सय श्रमिक अझै फसेको दाबी गर्दै उनीहरूको तत्काल उद्धार गर्न माग गरेको छ।
विपद् आएको सात दिन बितिसक्दा पनि ती श्रमिकको प्रभावकारी उद्धार हुन नसकेको र उद्धारका लागि आयोजनाहरूले नै सरकारसँग अपिल गर्नुपर्ने अवस्था आउनु गैरजिम्मेवार व्यवहार भएको महासंघको आरोप छ।
त्यस्तै, हजारौं यातायात तथा कन्टेनर चालक–सहचालक, वित्तीय तथा भारबाहक श्रमिकसमेत बेपत्ता रहेको उल्लेख गर्दै एनटीयूसीले उनीहरूको खोजी, उद्धार र सुरक्षित पुनर्स्थापनालाई उच्च प्राथमिकता दिन माग गरेको छ।
रोजगारी गुमाएका श्रमिकका लागि राहत प्याकेज माग
बाढीका कारण सडक तथा पुलमा भएको क्षतिले यातायात र आपूर्ति प्रणाली प्रभावित भएकाले रोजगारी गुमाएका श्रमिकका लागि विशेष राहत प्याकेज ल्याउन एनटीयूसीले सरकारसँग आग्रह गरेको छ।
महासंघले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, खाद्यान्न, अस्थायी आवास र पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्ने जनाएको छ। साथै, मृतक तथा बेपत्ता श्रमिकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ।
अन्तर्राष्ट्रिय सहयोग जुटाउन आग्रह
विपद्को सामना गर्न आवश्यक स्रोत तथा जनशक्ति परिचालनका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग तत्काल समन्वय गर्न एनटीयूसीले सरकारलाई आग्रह गरेको छ।
महासंघले भोटेकोशीको विपद्लाई जलवायु परिवर्तनसँग समेत जोडेको छ। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय तथा हानि–नोक्सानी कोष (Loss and Damage Fund) बाट सहयोग प्राप्त गर्न सशक्त रूपमा आवाज उठाउनुपर्ने एनटीयूसीको धारणा छ।
जलवायुजन्य विपद्को राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि वैदेशिक ऋण लिन नहुने आफ्नो अडान दोहोर्याउँदै महासंघले धनी राष्ट्रबाट न्यायोचित क्षतिपूर्ति तथा पर्याप्त अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्नुपर्ने जनाएको छ।
उद्धारमा खटिएकालाई धन्यवाद
एनटीयूसीका महासचिव अजयकुमार राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
विज्ञप्तिमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सहयोगी संस्थाप्रति पनि महासंघले आभार व्यक्त गरेको छ।