बलात्कार मुद्दामा ५ लाख धरौटीमा छुटेको भन्दै सरकारी महिला अधिकृतद्वारा न्यायको माग

balatkar-muddama-nyayko-mag-sarkari-mahila-adhikrit

एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलात्कार भएको आरोप लगाउँदै न्यायको माग गरेकी छन् । शनिबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा आरोपित प्रमोद मैनालीलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको र उच्च अदालत पाटनले पनि जिल्ला अदालतकै निर्णय सदर गरेको बताइन् । आफूले न्यायका लागि दुई महिनादेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको उनले जानकारी दिइन् । उनका अनुसार काठमाडौंस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यरत रहेका बेला २०८१ माघमा मैनालीले आफूलाई बलात्कार गरेको आरोप छ ।

घटनापछि दबाब तथा थप यौन दुर्व्यवहार र धम्की आएको दाबी गर्दै उनले कानुनी उपचार खोज्न बाध्य भएको बताइन् । जिल्ला र उच्च अदालतको निर्णयपछि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र पटक–पटक पेसी सरेका कारण आफू थप पीडामा परेको उनको भनाइ छ । न्यायको माग गर्दै धर्नामा बसेकै अवस्थामा आफूले विष सेवन तथा हातको नशा काटेर आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् । पीडितको पक्षमा रहेकी जेनजी अभियन्ता लक्ष्मी देवीले राज्यले सरकारी कर्मचारीलाई समेत न्याय दिन नसकेको भन्दै आम नागरिकको न्यायको अवस्थामाथि प्रश्न उठाएकी छन् ।