मन्त्री गीता चौधरीको निर्देशन: चैते र सुख्खा धानको अनुसन्धानमा जोड दिन आग्रह

agriculture-minister-geeta-chaudhary-chait-dhan-research

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले धनुषाको हर्दिनाथस्थित कृषि अनुसन्धान केन्द्रको भ्रमण गर्दै कृषि अनुसन्धानलाई किसानको आवश्यकता अनुसार केन्द्रित गर्न निर्देशन दिएकी छन्। अनुसन्धान केन्द्रका विज्ञ तथा अनुसन्धानकर्तासँग छलफल गर्दै उनले विशेषगरी चैते धान उत्पादन वृद्धि र कम पानीमा उत्पादन गर्न सकिने सुख्खा धानको अनुसन्धानलाई प्राथमिकता दिन आग्रह गरिन्।

मन्त्री चौधरीले मधेश प्रदेशमा सिँचाइको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै पानीको कम उपलब्धतामा पनि राम्रो उत्पादन दिने धानका जात विकास गर्न अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। उनले जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राखेर कृषि अनुसन्धानलाई समयसापेक्ष बनाउनुपर्नेमा समेत जोड दिइन्।

हर्दिनाथमा उत्पादन हुने गुणस्तरीय धानको बीउ किसानमाझ पर्याप्त रूपमा प्रयोग हुन नसकेको उल्लेख गर्दै उनले हाल सीमित किसानले मात्र प्रयोग गरिरहेको अवस्थालाई परिवर्तन गर्न अनुसन्धान केन्द्रले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्। गुणस्तरीय बीउको पहुँच र प्रयोग बढाएर उत्पादन वृद्धि गर्न आवश्यक वातावरण निर्माण गर्न उनले निर्देशन दिइन्।

त्यसैगरी किसानलाई बीउ, मल, प्राविधिक सहयोग, बजार व्यवस्थापनलगायत सम्पूर्ण सेवा एकीकृत रूपमा उपलब्ध गराउने ‘वन प्याकेज’ अवधारणाअनुसार काम गर्न अनुसन्धान केन्द्रलाई सुझाव दिइन्। यसले कृषि उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

मन्त्री चौधरीले अनुसन्धान केन्द्रहरूले बजेट अभावको मात्र गुनासो नगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्था र विभिन्न निकायसँग सहकार्य गरेर थप स्रोत जुटाउने पहल गर्नुपर्ने धारणा राखिन्। उनले उपलब्ध अवसरहरूको उपयोग गर्दै अनुसन्धान र कृषि विकासका लागि थप लगानी आकर्षित गर्न आग्रह गरिन्।

दुईदिने धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले कृषि सहकारी, कृषि उत्पादनसँग सम्बन्धित संस्था तथा किसानसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएकी छन्। उनले मधेश प्रदेशको कृषि उत्पादनलाई थप गुणस्तरीय, आधुनिक र प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक सहयोग र प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।