एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएका हुन् ।
नेपाल आइपुगेपछि कान्डाले एडीबीले नेपालको विकास, रूपान्तरण र दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा पनि एडीबीले सहयोग निरन्तर राख्ने उनले उल्लेख गरे ।
नेपालको प्रमुख विकास साझेदारमध्ये एक रहेको एडीबीको हाल नेपालमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनामा लगानी रहेको अध्यक्ष कान्डाले जनाए ।
भ्रमणका क्रममा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने र यससम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन उत्सुक रहेको उनले बताए ।
नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम रहेको सहकार्य र साझेदारी आगामी दिनमा अझ सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे ।

