‘मायालु’मा कबीर खड्कासँग जोडी बाँध्दै आकृति बुढाथोकी
काठमाडौं । निर्देशक प्रवेश पौडेलको नयाँ सिनेमा ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। निर्माण पक्षले उनलाई सिनेमाको मुख्य अभिनेत्रीका रूपमा छनोट गरेको हो। यसअघि नै अभिनेता कबीर खड्का मुख्य भूमिकाका लागि निश्चित भइसकेका छन्।
‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरिसकेका पौडेलको यो तेस्रो फिचर सिनेमा हुनेछ। चलचित्र घोषणा हुँदा यसको नाम ‘मेरो अधुरो प्रेम’ राखिएको थियो। हाल उक्त नामलाई होल्डमा राख्दै निर्माण टोलीले ‘मायालु’ शीर्षकमा काम अगाडि बढाएको निर्देशक पौडेलले बताएका छन्।
उनका अनुसार ‘मायालु’ प्रदर्शनपछि ‘मेरो अधुरो प्रेम’ शीर्षकमै अर्को सिनेमा निर्माण गर्ने योजना छ।
अभिनेत्री आकृतिका लागि ‘मायालु’ दोस्रो सिनेमा हुनेछ। यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरिसकेकी छन्। यद्यपि ‘मुक्तिपुर’ अझै प्रदर्शनमा आएको छैन। पहिलो चलचित्र प्रदर्शन नहुँदै उनी अर्को सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएकी हुन्।
नाट्य क्षेत्रबाट अभिनय यात्रा थालेकी आकृति मोडलिङमा पनि सक्रिय छिन्। ‘मायालु’मा उनी कबीर खड्काको जोडीका रूपमा मुख्य भूमिकामा प्रस्तुत हुनेछिन्।
मुख्य अभिनेत्री टुंगो लागेसँगै निर्माण टोली अहिले सहायक अभिनेत्रीको खोजीमा छ। निर्देशक पौडेलका अनुसार सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ।
सिनेमाको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् भने पटकथा अनिल कुर्मीले लेख्नेछन्। मुख्य कलाकारबाहेक अन्य केही पात्र अस्ट्रेलियाबाट छनोट गर्ने तयारी निर्माण पक्षको छ।
‘मायालु’को छायांकन नेपाल र अस्ट्रेलियामा गरिनेछ। छायांकनको सुरुवात अस्ट्रेलियाबाट गर्ने योजना छ। साउनमै छायांकन सुरु गर्ने तयारी भए पनि कलाकारहरूको भिसा प्रक्रियाका कारण निर्धारित समयमा काम सुरु हुन सकेको थिएन। अब दशैंपछि छायांकन सुरु गर्ने तयारी गरिएको निर्देशक पौडेलले जानकारी दिएका छन्।
सिनेमाको छायांकन शरद महतोले गर्नेछन्। सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा सुरेन्द्र रावलको लगानी रहनेछ। रावलले दर्शकमाझ आकर्षक प्रेमकथा प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माणमा प्रवेश गरेको बताएका छन्।
विवेक पौडेल सह–निर्माता रहेको सिनेमामा शिवाकर प्रसाईं कार्यकारी निर्देशक, सुनिल निउरे मुख्य सहायक निर्देशक तथा बमबहादुर थापा एसोसिएट निर्देशकका रूपमा आबद्ध छन्। चलचित्रको संगीत अनमोल थापाले तयार गर्नेछन्।