June 28, 2026 1 MIN READ

‘हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ’ : ओली

1 MIN READ
%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%b2%e0%a4%a1%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%9b%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%b9%e0%a5%8b%e0%a4%87%e0%a4%a8

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि आन्दोलन समाप्त नभएको बताउँदै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीले अत्यन्त छोटो जीवनकालमा नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान पुर्‍याएको बताए।

ओलीले सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी शासन व्यवस्था पतन भएपछि विश्वभर कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको कठिन परिस्थितिमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गराए। उनले एमालेका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नीतिहरू सही रहेको दाबी गर्दै पार्टी कुनै विचार वा नीति परिवर्तन गर्न कुनै पनि एकता–एकीकरणको छलफलमा नरहेको स्पष्ट पारे। उनका अनुसार पार्टीको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै समाजवादको व्यावहारिक स्वरूप हो।

वर्तमान सरकारमाथि कडा प्रहार गर्दै ओलीले यो सरकार प्रतिगमनको उपज भएको आरोप लगाए। उनले वैधानिक सरकार हटाएर लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने षड्यन्त्र भएको दाबी गर्दै एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्याको अभियान चलाइएको आरोप पनि लगाए। वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कुण्ठित गरेको र राष्ट्रिय हितविपरीत काम गरेको भन्दै उनले सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गरे। उनले भने, ‘हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ, प्रतिगमनवादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। हाम्रो विजय अवश्यंभावी छ।’