June 28, 2026 1 MIN READ

नेपालमा व्यावसायिक रेस्लिङको नयाँ इतिहास : ‘पीडब्लुएक्सएम रेसल क्यासल’मा जापानी महानायक तात्सुमी फुजिनामी आउँदै

1 MIN READ
pwxm-wrestle-castle-japanese-legend-tatsumi-fujinami-coming-nepal-professional-wrestling

काठमाडौं। नेपालको व्यावसायिक रेस्लिङ क्षेत्रमा ऐतिहासिक पाइलो टेक्ने उद्देश्यसहित ‘पीडब्लुएक्सएम : रेसल क्यासल’ कार्यक्रम आयोजना हुने भएको छ। यस कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण भनेको विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा ‘डब्लुडब्लुई हल अफ फेमर’ तात्सुमी फुजिनामीको नेपाल आगमन हो। विश्व रेस्लिङ इतिहासका अत्यन्त सम्मानित व्यक्तित्वमध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली रेस्लिङ जगतका लागि अभूतपूर्व अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

खेलकुद, मनोरञ्जन र सङ्गीतलाई एकै मञ्चमा समेटिने यो भव्य कार्यक्रम २०८३ साल असार २० गते शनिबार दिउँसो २ बजेदेखि ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ। फुजिनामीसँगै जापानबाट लेओना फुजिनामी, योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवा सहभागी हुनेछन्।

नेपाली पक्षबाट व्यावसायिक रेस्लिङका अग्रणी प्रशिक्षक हिमालयन टाइगरको मार्गदर्शनमा तयार भएको टोलीको नेतृत्व चर्चित र्‍यापर तथा रेस्लर बुलेट फ्लो (थापाकाजी) ले गर्नेछन्। अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ पनि नेपाली टोलीबाट प्रतिस्पर्धामा उत्रिनेछन्।

पिग ई प्रोडक्सनको प्रस्तुति र नखिपोट युथ क्लबको सह–आयोजनामा हुने यस कार्यक्रमको निर्देशन तकाशी ताकेइ (टक बिष्ट) ले गरिरहेका छन्। आयोजकका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनमा सीमित नरही नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने एक महत्त्वपूर्ण अभियान हो। नेपाल र जापानबिच सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्दै नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय अवसर दिलाउनु र नयाँ प्रतिभा उत्पादन गर्नु यसका मुख्य लक्ष्य हुन्। कार्यक्रममा र्‍याप कलाकार डिबी यो म्याजेस्टी, भी (लेन ३९) र लोकप्रिय गायक कुहाङको साङ्गीतिक प्रस्तुति पनि रहनेछ।