‘जबज’ आजपनि उत्तिकै सान्दर्भिक छ, एक निर्वाचनको परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य तय गर्दैन : विद्यादेवी भण्डारी
1 MIN READ
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजको सन्दर्भमा पनि उत्तिकै प्रासंगिक र सान्दर्भिक रहेको बताएकी छिन्। आइतबार काठमाडौंमा मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहमा बोल्दै उनले यस्तो धारणा राखिन्।
भण्डारीले सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू ढलेको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीले नेपालको आफ्नै वस्तुगत यथार्थका आधारमा जबजको मौलिक अवधारणा विकास गरेको स्मरण गराइन्। उनका अनुसार यो अवधारणा केवल तत्कालीन संकटको उत्तर मात्र नभई नेपालको भूमिबाट जन्मिएको मौलिक वैचारिक प्रस्ताव थियो, जसले बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनमार्फत समाजवादी रूपान्तरण सम्भव रहेको मान्यता स्थापित गर्यो।
हालैको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा बोल्दै भण्डारीले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताउँदै एउटा निर्वाचनको नतिजाका आधारमा जबजको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्षमा पुग्न नहुने स्पष्ट पारिन्। उनले रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल कमजोरी भएको मदन भण्डारीको निष्कर्ष आज झनै सान्दर्भिक भएको बताइन्।
भण्डारीले बदलिँदो पुस्ता, डिजिटल युग र युवाका नयाँ आकांक्षाअनुसार कम्युनिष्ट आन्दोलनले आफ्नो नीति, कार्यशैली र संगठनात्मक ढाँचामा समयानुकूल परिवर्तन ल्याउनु अपरिहार्य रहेको जोड दिइन्। गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सुशासन र उत्पादनमुखी अर्थतन्त्रमा व्यावहारिक नीति अवलम्बन गर्न सकेमा मात्र आन्दोलन थप सुदृढ र लोकप्रिय बन्ने उनको भनाइ थियो। संविधान संशोधनको विषयमा उनले संविधानका मूलभूत मूल्य र मान्यतालाई कमजोर पार्ने गरी कुनै पनि परिमार्जन गर्न नहुने र प्रत्यक्ष कार्यकारी प्रणाली नेपालको बहुजातीय तथा बहुसांस्कृतिक समाजका लागि उपयुक्त नहुने धारणा राखिन्।