निजी च्याट सार्वजनिक भएपछि विवादमा सुजन चापागाईं, माफी माग्दै फेक सामग्रीविरुद्ध कानुनी कारबाहीको चेतावनी
1 MIN READ
काठमाडौं। चर्चित गायक सुजन चापागाईं यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका निजी च्याटका स्क्रिनसट र भिडियोका कारण गम्भीर विवादको केन्द्रमा छन्। पछिल्ला दिनहरूमा टिकटक, इन्स्टाग्राम र रेडिटलगायत विभिन्न प्लेटफर्ममा उनीसँग सम्बन्धित भनिएका च्याट सामग्रीहरू तीव्र गतिमा फैलिएका छन्।
सार्वजनिक भएका च्याटहरूमा दोहोरो अर्थ लाग्ने र अशोभनीय शब्दहरूको प्रयोग भएको देखिन्छ। यसका अतिरिक्त, केही किशोरीहरूले चापागाईंले इन्स्टाग्रामको ‘भ्यानिस मोड’ फिचर प्रयोग गरी आफूहरूसँग अनुचित किसिमका निजी सन्देश आदानप्रदान गर्ने गरेको गम्भीर आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन्।
विवाद बढ्दै गएपछि चापागाईंले फेसबुकमार्फत आफ्नो स्पष्टीकरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक भएका केही सन्देश आफ्नै भएको स्वीकार गर्दै आफ्नो व्यवहारप्रति खेद व्यक्त गरेका छन् र क्षमायाचना गरेका छन्। तथापि, सामाजिक सञ्जालमा प्रसारित सम्पूर्ण सामग्री प्रामाणिक नभएको भन्दै उनले आफ्नो सामाजिक सञ्जाल खाता विभिन्न समयमा अन्य व्यक्तिहरूद्वारा पनि सञ्चालन हुने गरेको बताएका छन्। उनका अनुसार कतैबाट खाताको दुरुपयोग भई फेक सामग्री फैलाइएको हुन सक्ने आशंका छ र यस्तो भ्रामक सामग्री फैलाउनेविरुद्ध कानुनी कदम चाल्ने उनले स्पष्ट चेतावनी दिएका छन्।