कुशल भुर्तेलको लगातार दोस्रो T20I शतक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन्। मलेसियाविरुद्धको खेलमा उनले मात्र ४४ बलमै शतक पूरा गर्दै विस्फोटक ब्याटिङ प्रदर्शन गरे र ५४ बलमा १२६ रन बनाएर आउट भए। चौका र छक्काको वर्षासहित आएको उनको इनिङ्सका कारण नेपालले ठूलो स्कोरतर्फ दबदबा कायम गरेको थियो। यो समाचार तयार पार्दासम्म नेपालले १८.३ ओभरमा ५ विकेट गुमाउँदै २६२ रन बनाइसकेको छ।यसअघि उनले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमै शतक प्रहार गरेका थिए। लगातार दुई खेलमा शतक बनाउँदै भुर्तेलले उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन्।