भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ मा भएको घटनालाई पूर्वनियोजित र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्।
पार्टीको सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरे पनि आफूहरूका अनुसार त्यो योजनाबद्ध गतिविधि भएको बताए।
ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारांशमा पनि सो घटना पूर्वनियोजित भएको उल्लेख गरिएको दाबी गर्दै त्यसलाई आधारका रूपमा प्रस्तुत गरे।
उनका अनुसार तत्कालीन एमाले नेतृत्वको सरकार संवैधानिक र जनमतका आधारमा बलियो अवस्थामा रहे पनि विभिन्न प्रयासमार्फत अस्थिर बनाउने प्रयास भएको थियो।
ओलीले त्यतिबेला सरकारलाई संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाबाट हटाउने प्रयास असफल भएपछि वैधानिक र गैरवैधानिक दुवै मार्गबाट सरकार विस्थापित गर्ने षड्यन्त्र भएको टिप्पणी गरे।