पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गरे नतिजा कमजोर हुन्छ : विष्णु पौडेल
0 MIN READ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको गुणस्तर कमजोर भए संगठनले अपेक्षित नतिजा दिन नसक्ने बताएका छन्।
एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए।
उनका अनुसार संख्या मात्रै ठूलो हुनु पर्याप्त नभई गुणस्तरीय सदस्यता नै पार्टी निर्माणको आधारभूत पक्ष हो। सदस्यहरू विचार र संगठनप्रति सचेत र सक्रिय भए मात्र पार्टी सफल हुने उनको भनाइ थियो।
पौडेलले सदस्यता प्राप्तिलाई कम्युनिस्ट पार्टीमा अत्यन्त महत्वपूर्ण राजनीतिक र वैचारिक विषयका रूपमा लिइने उल्लेख गर्दै यसलाई केवल औपचारिक प्रक्रिया नभई संगठन निर्माणको निर्णायक आधारका रूपमा बुझ्नुपर्ने बताए।
उनले पार्टीको विचार, सिद्धान्त र मूल्य–मान्यतासँग जोडिएको सदस्यता विस्तार तथा नवीकरण प्रक्रियामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।