इलामको माङसेबुङमा ‘माङसेबुङको बेसार’ ब्रान्ड, प्रशोधन केन्द्र सञ्चालनमा
0 MIN READ
इलाम । माङसेबुङ गाउँपालिकाले स्थानीय रूपमा उत्पादित बेसारको व्यावसायिक बजारीकरणका लागि आफ्नै ब्रान्ड ‘माङसेबुङको बेसार’ सार्वजनिक गर्दै प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ।
माङसेबुङ–१ गजुरमुखीमा स्थापना गरिएको प्रशोधन केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका हुन्। केन्द्र स्थानीय गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको लागत साझेदारीमा सञ्चालनमा ल्याइएको हो।
‘बेसार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत कुल ९ लाख ६४ हजार रुपैयाँ लागतमा केन्द्र स्थापना गरिएको हो, जसमा गाउँपालिकाको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानी रहेको छ।
गाउँपालिकाले अब बेसारलाई सफाइ, सुकाइ, पिसाइ र प्याकेजिङ गरेर ब्रान्डसहित बजारमा पठाउने जनाएको छ। यसले किसानलाई सस्तोमा कच्चा उत्पादन बेच्नुपर्ने बाध्यता हटाई उचित मूल्य दिलाउने लक्ष्य राखिएको छ।
गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले ब्रान्डिङपछि स्थानीय उत्पादनले राष्ट्रिय बजारसम्म पहुँच पाउने विश्वास व्यक्त गरेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार इलाममा हाल १२३ हेक्टर क्षेत्रफलमा बेसार खेती हुँदै आएको छ। उत्पादन बढी हुने, भण्डारणमा सहज र औषधीय गुणयुक्त भएकाले बेसार खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।