जेनजी आन्दोलन प्रतिवेदनमा नाम समेटिएपछि सांसद बोहोरा सर्वोच्च पुगे, रिट दायर
0 MIN READकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गर्दै उनी सोमबार सर्वोच्च पुगेका हुन्।
रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बोहोराले आफू भदौ २३ र २४ गते अस्पतालमा रहेको र त्यसबेला परिवारको स्वास्थ्य उपचारमा व्यस्त रहेको बताए।
उनका अनुसार जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता छैन र त्यस अवधिका कुनै पनि फोटो वा भिडियोमा आफ्नो उपस्थिति देखिँदैन।
उनले आयोगले पर्याप्त प्रमाणबिना नाम समावेश गरेको आरोप लगाउँदै आफ्नो नाम प्रतिवेदनबाट हटाउन र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
बोहोराले अदालतबाट न्यायसहित वास्तविक तथ्य सार्वजनिक हुने अपेक्षा व्यक्त गरेका छन्।