पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि खतराको संकेत

journalists-arrest-press-freedom-democracy

पत्रकारमाथिको धरपकड प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि खतराको संकेतकाठमाडौं । पछिल्लो समय प्रहरी प्रशासनबाट सञ्चारगृह तथा पत्रकारमाथि भइरहेको धरपकडप्रति नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले समाचार कक्षमा प्रहरी प्रवेश गर्ने, समाचारको स्रोत खोज्ने तथा समाचार सामग्रीकै विषयलाई लिएर पत्रकार पक्राउ गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।नेपाल न्यूज बैंकसँगको कुराकानीमा महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, महेन्द्र विष्ट र हरिहर विरहीले पत्रकारमाथिको हस्तक्षेप संविधान, कानुन तथा पत्रकारिताका स्थापित मूल्य–मान्यताविपरीत रहेको धारणा व्यक्त गरेका छन्।पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारमाथिको धरपकड लोकतन्त्रमा कल्पना गर्न नसकिने घटना भएको बताए। उनले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि मात्र नभई लोकतन्त्रको भविष्यमा समेत संकट उत्पन्न गर्ने बताए।उनका अनुसार प्रेस स्वतन्त्रता पत्रकारहरूको पेसागत अधिकारमा मात्र सीमित नभई सम्पूर्ण नागरिकको सूचनाको हक र लोकतन्त्रको आधारभूत मान्यतासँग जोडिएको विषय हो। राज्यले पत्रकारमाथि हस्तक्षेप गर्नुको सट्टा उनीहरूले स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।त्यस्तै, महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पछिल्लो घटनाक्रम संविधान, कानुन र पत्रकारिताको मूल्य–मान्यताविपरीत रहेको बताए। राज्यका निकाय तथा सत्तारूढ दलले समेत उक्त गतिविधि गलत भएको स्वीकार गरिसक्दा घटनाको जिम्मेवारी कसैले नलिनु र दोषीमाथि कारबाही नहुनु गम्भीर विषय भएको उनको भनाइ छ।दाहालले पत्रकारमाथिको धरपकडले प्रेसलाई मनोवैज्ञानिक त्रासमा राख्ने र स्वतन्त्र अभिव्यक्तिलाई कमजोर बनाउने प्रयास भएको बताए। यद्यपि, प्रेस स्वतन्त्रताको संरक्षणका लागि नेपाली पत्रकारिता क्षेत्र निरन्तर अघि बढिरहेको उनले उल्लेख गरे।महासंघका अर्का पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले पनि पत्रकारमाथिको धरपकडलाई खेदजनक घटना बताएका छन्। समाचार कक्षमा प्रहरी प्रवेश गर्नु, समाचारको स्रोत खुलाउन दबाब दिनु तथा समाचार लेखेकै विषयमा पक्राउ पुर्जीबिना पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर विषय भएको उनले बताए।विष्टका अनुसार यस्ता गतिविधिले सञ्चारमाध्यमको स्वतन्त्र अभ्यासमा अवरोध पुर्‍याउनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्छ। समाचारप्रति कुनै असहमति वा गुनासो भए स्थापित कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने उनको धारणा छ।पत्रकारिताको मुख्य जिम्मेवारी सार्वजनिक चासोका विषय, राज्यका गतिविधि तथा नागरिकका सवाललाई बाहिर ल्याउनु हो। त्यसैले सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने वा पत्रकारलाई त्रासमा राख्ने गतिविधिले नागरिकको सूचनाको अधिकारसमेत प्रभावित पार्ने जोखिम रहन्छ।पूर्वअध्यक्षहरूले प्रेस स्वतन्त्रताको संरक्षण, घटनाको जिम्मेवारी निर्धारण तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, पत्रकारले निर्भीक र स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण निर्माण गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरीको हस्तक्षेपशुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। दियोपोस्ट अनलाइनको कार्यालयमा समेत प्रहरी प्रवेश गरेको थियो।उक्त घटनाप्रति पत्रकारिता क्षेत्र तथा विभिन्न सरोकारवालाहरूले आलोचना गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारमाथि भएको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन्।