कर्णाली ककहिले पूरा होला कर्णालीमा निर्धक्क यात्रा गर्ने सपना?
कहिले पूरा होला कर्णालीमा निर्धक्क यात्रा गर्ने सपना?सुर्खेत । भारतको जमुनाहदेखि चीनको हिल्सासम्म जोड्ने लक्ष्यसहित निर्माण भइरहेको कर्णाली कोरिडोरको काम सुस्त गतिमा अघि बढेको छ। ५०५ किलोमिटर लामो यस सडकको निर्माण तथा स्तरोन्नतिमा ढिलाइ हुँदा कर्णालीवासीले सहज र सुरक्षित यात्राको सपना अझै पूरा गर्न सकेका छैनन्।कर्णाली कोरिडोरअन्तर्गत दक्षिण खण्डको खुलालु–सल्लिसल्ला सडक योजनाको प्रगति कमजोर देखिएको छ। १२३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहे पनि निर्माणाधीन दुई खण्डको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।आर्थिक वर्ष २०८२/८३ देखि निर्माण सुरु भएका पिलुचौर–कुवाडी र कुवाडी–तुम्च खण्डको वित्तीय प्रगति क्रमशः ३५ र ८ प्रतिशत मात्रै पुगेको छ।पिलुचौर–कुवाडीको २३.७ किलोमिटर सडक स्तरोन्नतिका लागि पीएस कन्स्ट्रक्सनसँग करिब १ अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। त्यस्तै, कुवाडी–तुम्चको २६.३ किलोमिटर सडक निर्माणका लागि सिंह–कन्टेक जेभीसँग करिब १ अर्ब ९५ करोड रुपैयाँको सम्झौता गरिएको छ।दुवै खण्डको निर्माण सम्पन्न गर्ने मिति २०८५ असार २५ तोकिएको छ। तर, समग्र खुलालु–सल्लिसल्ला सडक योजनाको सम्पन्न गर्ने लक्ष्य भने आर्थिक वर्ष २०८४/८५ बाट संशोधन गरी २०८९/९० पुर्याइएको छ।आयोजना प्रमुख विष्णु दाश लामाका अनुसार १२३ किलोमिटर सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ। त्यसमध्ये ५० किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ भने थप ४१ किलोमिटरको ठेक्का व्यवस्थापन गरिएको छ। सडकमा आवश्यक १५ वटा पुल निर्माणको तयारीसमेत भइरहेको छ।उत्तर खण्डमा पनि स्तरोन्नति हुँदैकर्णाली कोरिडोरको उत्तर खण्डअन्तर्गत १४६ किलोमिटर लामो हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ।योजना प्रमुख इन्जिनियर बेलबहादुर नेपालीका अनुसार सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ। त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको छ।१४ अर्बसम्म लागत पुग्न सक्नेखुलालु–सल्लिसल्ला सडक योजनाको प्रारम्भिक लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। सम्पूर्ण सडकलाई कालोपत्रे स्तरमा स्तरोन्नति गर्दा लागत बढेर १४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने आयोजना प्रमुख लामाले बताएका छन्।भारतको जमुनाहदेखि चीनको हिल्सासम्म जोड्ने यो सडकले कालिकोट, बाजुरा, मुगु र हुम्लाका नागरिकलाई यातायात सेवासँग सहज रूपमा जोड्ने अपेक्षा गरिएको छ।कर्णालीका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको जोखिमपूर्ण यात्राको समस्या समाधान गर्न आयोजना समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको छ।