बूढीगण्डकीमा आकस्मिक बाढी : पहिरोले नदी थुनिएर फुटेको प्रारम्भिक अनुमान

budhigandaki-flash-flood-landslide

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बूढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर पछि फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो।

महाशाखाका अनुसार बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबारे बिहान ६ बजे प्रारम्भिक जानकारी प्राप्त भएको थियो। घटनास्थलको पछिल्लो २४ घण्टाको वर्षा विवरणमा छिटपुट मात्र वर्षा देखिएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नरहेको प्रारम्भिक विश्लेषण गरिएको छ।

प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर पछि फुट्दा एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको महाशाखाले जनाएको छ। यद्यपि, बाढी आउनुको वास्तविक कारण पुष्टि गर्न विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ।

आरुघाटमा जलसतह ८.४३ मिटर पुग्यो

महाशाखाका अनुसार बूढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे जलसतह २.२८ मिटर रहेको थियो। त्यसपछि जलसतह बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर रहेको छ।

बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन पाँच मिटरको खतरा तहभन्दा माथि हो। त्यसपछि केही घटेको जलसतह पुनः तीव्र गतिमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको महाशाखाले जनाएको छ।

जलसतहमा आएको तीव्र वृद्धिलाई मध्यनजर गर्दै महाशाखाले नदीको तटीय तथा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो।

जोखिमयुक्त बस्ती खाली गर्न पूर्वसूचना

बाढीसम्बन्धी सूचना प्राप्त हुनासाथ तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको महाशाखाले जनाएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत थप अद्यावधिक सूचना सार्वजनिक गरिएको थियो। त्यस क्रममा बूढीगण्डकी नदीको तटीय क्षेत्रदेखि बेनीघाटसम्मका जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो।

त्यसैगरी, मुग्लिङसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा पनि सावधानी अपनाउन अपिल गरिएको थियो।

महाशाखाले बिहान ९ः२५ बजे पुनः एसएमएसमार्फत सूचना पठाउँदै सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको थियो। विज्ञप्तिअनुसार उक्त अवधिमा दुई पटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको थियो।

नदीको बहाव घटे पनि जोखिम कायमै

महाशाखाले बूढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई बुधबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

नदीको बहाव घटेको देखिए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको हुनसक्ने भएकाले पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न महाशाखाले अनुरोध गरेको छ। साथै, स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

बाढीको वास्तविक कारण र अवस्थाबारे थप प्राविधिक विश्लेषण भइरहेको जनाउँदै महाशाखाले विश्लेषणबाट प्राप्त निष्कर्ष तथा बाढीसम्बन्धी अद्यावधिक जानकारी सार्वजनिक गरिने जनाएको छ।