भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत अवरुद्ध, हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार
भोटेकोशी बाढीपछि काठमाडौंमा वैकल्पिक विद्युत आपूर्ति र भूमिगत ग्रिड विस्तारको तयारी
काठमाडौं । ४३० मेगावाट विद्युत अवरुद्ध भएपछि सरकारले काठमाडौंको हिउँदे विद्युत माग व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था अघि बढाएको छ। भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको हो।
बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति प्रभावित भएको छ। यसले बालाजु र चपली प्रसारण लाइनमा थप चाप परेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रभावित क्षेत्रमा वैकल्पिक विद्युत आपूर्ति प्रणाली विकास गर्न गृहकार्य अघि बढाइएको छ। उनका अनुसार नेपाल विद्युत प्राधिकरणले हिउँदको माग व्यवस्थापनका लागि टास्क फोर्स बनाएर काम गरिरहेको छ।
भोटेकोशी बाढीबाट विद्युत आपूर्तिमा परेको असरलाई ध्यानमा राख्दै सरकारले थप भूमिगत ग्रिड निर्माणको तयारीसमेत अघि बढाएको छ। मन्त्रालयले सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माण तथा हिउँदको विद्युत व्यवस्थापनका विषयमा छलफल गरेको हो।
नेपाल विद्युत प्राधिकरणले कतिपय क्षेत्रमा भूमिगत वैकल्पिक विद्युत ग्रिडको विश्वसनीयता बढाउने तथा थप भूमिगत ग्रिड निर्माण गर्ने योजना अघि बढाएको छ। यसका लागि सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित कार्यतालिकासहित सहकार्य गर्ने विषयमा छलफल भएको प्रवक्ता शाक्यले बताए।
छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकाभित्र भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै हिउँदे विद्युत माग व्यवस्थापनमा आवश्यक सहयोग गरिने बताए।
त्यस्तै, बागमती वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौंको लोड व्यवस्थापन र आवश्यक कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए। उनले नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स गठन गरेर हिउँदे विद्युत माग व्यवस्थापनको काम अघि बढाइरहेको जानकारी दिए।
भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीबाट विद्युत उत्पादन र प्रसारण संरचनामा परेको क्षतिले आगामी हिउँदको आपूर्ति व्यवस्थापनमा चुनौती थपेको छ। यसअघि नेपाल विद्युत प्राधिकरणले पनि बाढीका कारण प्रभावित विद्युत संरचनाको पुनःस्थापना र आगामी हिउँदको माग व्यवस्थापनका लागि तयारी अघि बढाएको जनाएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोटेकोशी बाढीबाट प्रभावित विद्युत आयोजनासँग सम्बन्धित उद्धार, समन्वय तथा पुनःस्थापनाका काम अघि बढाइएको जानकारीसमेत सार्वजनिक गरेको छ।