दिगो र विपद् प्रतिरोधी डिजिटल प्रणाली बनाउन डिजिटल रूपान्तरण आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

digital-transformation-resilient-digital-system

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का समयमा समेत नागरिकलाई निर्बाध सूचना तथा सञ्चार सेवा उपलब्ध गराउन दिगो र विपद् प्रतिरोधी डिजिटल प्रणाली निर्माणमा सरकारले जोड दिएको बताएका छन्।

आईसीटी फाउन्डेसनद्वारा आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरण प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा मात्र सीमित नरहेको बताए। उनका अनुसार विपद्का समयमा डिजिटल प्रणालीको विश्वसनीयता, निरन्तरता र संस्थागत समन्वयलाई पनि समान प्राथमिकता दिन आवश्यक छ।

भोटेकोशीमा आएको बाढीले जनजीवन र भौतिक पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय विपद् तयारीको समेत परीक्षण गरेको मन्त्री तिमिल्सिनाले बताए।

उनले पछिल्ला विपद्का अनुभवले डिजिटल प्रणालीलाई सुविधा, दक्षता र आधुनिकीकरणको माध्यमका रूपमा मात्र नभई विपद् प्रतिरोधी र निरन्तर सेवा दिन सक्ने संरचनाका रूपमा विकास गर्नुपर्ने देखाएको बताए।

मन्त्री तिमिल्सिनाले विपद्का बेला सरकारले प्रभावकारी रूपमा नागरिकसँग सूचना सम्प्रेषण गर्न सक्ने अवस्था, सरकारी निकायबीच तत्काल समन्वय गर्न सक्ने क्षमता तथा नियमित प्रणाली प्रभावित हुँदा नागरिकले आवश्यक सेवा र सूचना प्राप्त गर्न सक्ने विषयलाई महत्वपूर्ण मानेका छन्।

त्यस्तै, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट गलत सूचना तीव्र रूपमा फैलिन सक्ने भएकाले विपद्का समयमा सत्य सूचना र अफवाहबीच फरक छुट्याउन सक्ने विश्वसनीय सूचना प्रणाली आवश्यक रहेको उनले बताए।

मन्त्री तिमिल्सिनाले यस्ता विषय अब सैद्धान्तिक बहसमा मात्र सीमित नरहेको उल्लेख गर्दै विपद्का समयमा डिजिटल प्रणालीको निरन्तरता र विश्वसनीयता राष्ट्रिय प्राथमिकताको विषय बनेको बताए