शी ब्यारेजमा पानीको बहाव बढ्यो, २४ ढोका खोलिए
कोशी ब्यारेजमा पानीको बहाव बढेपछि रातो बत्ती, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
कोशी ब्यारेजमा पानीको बहाव बढेको छ। पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भइरहेपछि कोशी नदीको जलस्तर बढ्दै गएको हो। शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए।
पानीको बहाव बढेपछि कोशी ब्यारेजका कुल ५६ वटा ढोकामध्ये २४ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहरका ढोका रहेका छन्।
जलस्तर बढेसँगै जोखिमको संकेतस्वरूप कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झन्डासमेत फहराइएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
कन्ट्रोल रुमका अनुसार नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले जलस्तरको अवस्था निरन्तर निगरानी भइरहेको छ।
यसैबीच, कोशी नदी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नदीको बहाव बढिरहेका कारण सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।
यसकारण कोशी नदी आसपासका बासिन्दालाई नदीको जलस्तर र मौसमको अवस्थाबारे नियमित जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।