नयाँ सुरक्षा विशेषतासहित एक हजार रुपैयाँको नोट बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहितको एक हजार रुपैयाँ दरको बैंकनोट (सिरिज–२०२५) आजदेखि चलनचल्तीमा ल्याएको छ। नोटको आकार, बैजनी मूल रङ र फिक्का हरियो घेराको डिजाइन भने साविककै राखिएको छ।
नयाँ नोटमा पानीछाप, रङ परिवर्तन हुने सुरक्षा धागो र दृष्टिविहीन व्यक्तिले स्पर्शबाट पहिचान गर्न सक्ने संकेतलगायत सुरक्षा विशेषता थप गरिएको राष्ट्र बैंकले जनाएको छ। ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागोमा ‘NRB’ र ‘1000’ अंकित गरिएको छ, जुन हेर्ने कोणअनुसार रातो र हरियो देखिन्छ।
नोटको अग्रभागमा सगरमाथा, लालीगुराँसको पानीछाप र भगवतीको चित्र राखिएको छ। भगवतीको चित्र कोण परिवर्तन गर्दा सुनौलोबाट हरियो रङमा देखिने व्यवस्था गरिएको छ।
पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’, सात प्रदेशको प्रतिनिधित्व गर्ने सात वटा लालीगुराँस तथा हनुमानढोकास्थित लँहचोकको ऐतिहासिक स्तम्भको चित्र समावेश गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको वितरण तोकिएका संकेत नम्बरपछि ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्मका नम्बरबाट सुरु भएको छ। बैंकले नोट राष्ट्रको सम्पत्ति भएकाले सुरक्षित र जतनपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
