वैवाहिक जबरजस्तीकरणी मुद्दा कमजोर बनाएको रितु सिंहको आरोप

ritu-singh-alleges-marital-rape-case-was-weakened

बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द बहादुर महताराविरुद्ध दायर गरेको वैवाहिक जबरजस्तीकरणी मुद्दा कमजोर बनाइएको आरोप लगाएकी छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले तत्कालीन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल तथा कर्मचारीको मिलेमतोमा आफूलाई न्यायबाट वञ्चित गर्ने प्रयास भएको गुनासो गरिन्।

सिंहका अनुसार उनले २०८२ सालमा श्रीमान महताराविरुद्ध वैवाहिक जबरजस्तीकरणीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। बाँके जिल्ला अदालतले महतारालाई धरौटीमा रिहा गरेपछि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सर्वोच्च अदालतले तत्काल जिल्ला अदालतकै आदेश सदर गरेपछि आफूलाई थप पीडा भएको सिंहले बताइन्।

आफ्नो मुद्दा कमजोर बनाउन बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिकाका तत्कालीन सचिव विद्याराम यादवले बढी चलखेल गरेको सिंहको आरोप छ। सरकारी वकिल गौतमले मुद्दालाई निष्क्रिय बनाउन विभिन्न हत्कण्डा अपनाएको उनले दाबी गरिन्।

स्थानीय तहका दस्तावेज उपलब्ध गराउने विषयमा गाउँपालिका सचिव यादवले आफूहरूसँग एक लाख रुपैयाँ घुस मागेको समेत सिंहले आरोप लगाइन्। आफूले रकम दिन अस्वीकार गरेपछि यादवले श्रीमानले विवाह दर्तासम्बन्धी प्रमाण दिन रोक लगाएको बताएको सिंहको भनाइ छ।

सिंहले आफू नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर निवासी तथा सडक पूर्वाधार विकास कार्यालय रोल्पा, लिवाङका प्रमुख इन्जिनियर गोविन्द बहादुर महतारा क्षेत्रीसँग २०७४ मंसिर २६ गते विवाह भएको र आफू उनकी वैधानिक श्रीमती भएको बताइन्। श्रीमानबाट आफूले जबरजस्तीकरणी तथा वैवाहिक हिंसा भोगेपछि कानुनी उपचारका लागि अघि बढ्न बाध्य भएको उनले बताएकी छन्।

सिंहले श्रीमानबाट आफूविरुद्ध बारम्बार हिंसात्मक व्यवहार भइरहेपछि मात्रै उनका अर्की श्रीमतीसमेत रहेको जानकारी पाएको दाबी गरिन्। लामो समयदेखि आफूले वैवाहिक हिंसा सहँदै आएको र सहन नसक्ने अवस्था भएपछि २०८२ मा वैवाहिक जबरजस्तीकरणीसम्बन्धी मुद्दा दायर गरेको उनले बताइन्।

मुद्दामा आफूले पर्याप्त प्रमाण तथा आधार प्रस्तुत गरे पनि त्यसलाई बेवास्ता गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने व्यक्तिलाई धरौटीमा छाडिएको सिंहको गुनासो छ। उनले अदालतको आदेश र मुद्दाको प्रक्रियाप्रति समेत असन्तुष्टि व्यक्त गरेकी छन्।

सिंहका अनुसार घटना भएलगत्तै जाहेरी दिन बाँके प्रहरीमा पुग्दा प्रहरीले जाहेरी दर्ता गर्नसमेत अस्वीकार गरेको थियो। पछिल्लो समयमा भने वर्तमान प्रहरी प्रमुखले सहयोग गरेपछि मुद्दा केही हदसम्म अघि बढाउन मद्दत पुगेको उनले बताइन्।

सिंहले आफूले भोगेको वैवाहिक हिंसा, कानुनी प्रक्रियामा देखिएको समस्या तथा सम्बन्धित निकायका अधिकारीबाट भएको भनिएको चलखेलबारे निष्पक्ष छानबिन गरी न्याय पाउनुपर्ने माग गरेकी छन्।