सोविता गौतम : समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल र भविष्य जोडिएको छ

sovita-gautam-ocean-conservation-bbnj

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।

मन्त्री गौतमका अनुसार नेपालका हिमालबाट बग्ने नदीहरू अन्ततः समुद्रमा पुग्ने भएकाले नेपालको वातावरणीय प्रणाली समुद्रसँग जोडिएको छ। समुद्रको तापक्रममा हुने परिवर्तनले नेपालको मनसुन र वर्षाको स्वरूपमा असर पार्ने तथा अतिवृष्टि, बाढी, पहिरो र खडेरीको जोखिम बढाउन सक्ने उनले बताइन्। नेपालबाट नदीमार्फत प्लास्टिक र रसायन समुद्रसम्म पुग्ने तथा विश्वव्यापी तापक्रम वृद्धिका कारण समुद्र तात्दा हिमनदी पग्लिने र हिमतालको जोखिम बढ्ने उनको भनाइ छ।

गौतमले नेपालले बीबीएनजे सम्झौतामा हस्ताक्षर गर्न लागेको जानकारी दिँदै समुद्र संरक्षण विश्वव्यापी जिम्मेवारी भएको बताइन्। सम्झौताको पक्ष राष्ट्र बनेपछि नेपालले सामुद्रिक वैज्ञानिक अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि तथा सामुद्रिक स्रोतबाट हुने लाभको समतामूलक बाँडफाँटमा सहभागिता जनाउन सक्ने उनले उल्लेख गरिन्।

उनका अनुसार सम्झौताले नेपालको ‘माउन्टेन डिप्लोमेसी’लाई अन्तर्राष्ट्रिय मञ्चमा थप विस्तार गर्ने अवसरसमेत दिनेछ। सम्झौता कार्यान्वयनका लागि स्थापित कोष तथा ग्लोबल इन्भाइरोन्मेन्ट ट्रस्ट फन्डमार्फत नेपालले आर्थिक सहयोग प्राप्त गर्न सक्ने उनको भनाइ छ।

मन्त्री गौतमले नेपालमा पानीजहाज दर्ता ऐन २०२७ बाहेक समुद्रसम्बन्धी अन्य कानुनी प्रबन्ध सीमित रहेको उल्लेख गर्दै सम्झौता अनुमोदनपछि जैविक विविधता संरक्षण, आनुवंशिक स्रोतको उपयोग र प्रविधि हस्तान्तरणसँग सम्बन्धित नयाँ कानुन निर्माण तथा आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइने जानकारी दिइन्।