नेपाली कांग्रेसको वडा अधिवेशन असोज ३ मै हुने, निर्वाचन समितिले भन्यो कार्यतालिका सर्दैन

nepali-congress-ward-convention-on-asoj-3

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले स्पष्ट पारेको छ। सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा महाधिवेशन र वडा अधिवेशन सर्ने हल्ला चलेको भन्दै समितिले निर्धारित कार्यतालिका प्रभावित नहुने जनाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले असोज ३ गते नै वडा अधिवेशन प्रारम्भ हुने बताए। संविधान, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाअनुसार अधिवेशन सार्नुपर्ने कुनै आधार नरहेको उनको भनाइ छ।

खड्काका अनुसार ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिइसकेका छन् भने अधिकांश वडामा मतदान अधिकृतसमेत पुगिसकेका छन्। उनले सामाजिक सञ्जालमा आफूले जारी गरेको विज्ञप्तिलाई तोडमोड गरेर अधिवेशन सर्ने हल्ला फैलाइएको बताए।

उनले सर्वोच्च अदालतको आदेश र विधिको शासनलाई आधार मान्दै निर्वाचन कार्यतालिका परिवर्तन गर्न नसकिने स्पष्ट पारे। संविधानले तोकेको समयसीमा तथा निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थालाई सर्वोच्च अदालतले समेत आफ्नो फैसलामा आधार बनाएको भन्दै अदालतको व्याख्या र फैसलाविपरीत जान नसकिने उनको भनाइ छ।

संघीयताको मूल मर्मअनुसार कांग्रेसले निर्वाचन प्रक्रिया विकेन्द्रित गरेको पनि खड्काले जानकारी दिए। सात प्रदेशमा छुट्टाछुट्टै कमिटी र संयोजक तोकेर उनीहरूको सिफारिसमा ७७ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरिएको उनले बताए। जिल्ला सभापतिसँग समन्वय गरी प्रत्येक वडामा मतदान अधिकृत खटाइएको र निर्वाचन नहुने वा सर्ने कुनै अवस्था नरहेको उनले दाबी गरे।

केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक मतदाता तयार भएपछि जिल्ला र प्रदेश अधिवेशन क्रमशः सञ्चालन गरिने समितिले जनाएको छ। धादिङ, नुवाकोट र रसुवाका केही अप्ठ्यारा स्थानमा स्थानीय परिस्थितिको मूल्याङ्कन गरी अधिवेशन सम्पन्न गर्ने तयारीसमेत गरिएको खड्काले बताए।