हुम्लामा पाँच महिनामा ६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

humla-welcomes-over-6000-foreign-tourists-in-five-months

हिमाली जिल्ला हुम्लामा पाँच महिनाको अवधिमा ६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार वैशाखदेखि हालसम्म ६ हजार १२५ जना विदेशी पर्यटक जिल्ला पुगेका छन्। तीमध्ये ३ हजार ५६ जना महिला र ३ हजार ६९ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर युवराज ढकालले जानकारी दिएका छन्।

हुम्लाको हिल्सा हुँदै पवित्र तीर्थस्थल मानसरोवर–कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या ठूलो रहेको छ। काठमाडौं र नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने विदेशी तीर्थयात्री जिल्ला पुग्ने गरेका छन्।

विदेशी पर्यटकको आगमन बढेसँगै सदरमुकाम सिमकोट र चीनसँगको सीमावर्ती हिल्साका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेका छन्। होटल व्यवसायी संघका अध्यक्ष मिम लामाका अनुसार एउटा होटलले मात्रै १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। अन्य देशबाट घुम्न आउने पर्यटक फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको आगमनको याम भने अझै जारी रहेको उनले बताए।

हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार भारतीय पर्यटक हुम्ला हुँदै कैलाश–मानसरोवर दर्शन गर्न जाने भएकाले स्थानीयले रोजगारी पाउनुका साथै सिमकोट र हिल्सा नाकाका होटल सञ्चालकले राम्रो आम्दानी गरिरहेका छन्।

मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको मार्ग छोटो दूरीमा पर्ने भएकाले जेठदेखि विदेशी तीर्थयात्री यहाँ पुग्ने गरेका छन्। पर्यटक आगमनबाट होटल व्यवसायी मात्र नभई स्थानीयस्तरका अन्य व्यवसाय तथा सेवामा समेत रोजगारीको अवसर सिर्जना भएको भण्डारीले बताए।

सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुग्ने विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएका छन्। भारतीय पर्यटकबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिने गरिएको छ।

जेठ, असार, साउन र भदौलाई कैलाश–मानसरोवर दर्शनका लागि उपयुक्त समय मानिन्छ। यही अवधिमा भारतीय तीर्थयात्रीको उल्लेख्य आगमन हुने भएकाले हुम्लाको पर्यटन तथा होटल व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने गरेको छ।