सी जिनपिङले भने, शक्तिका बलमा मनोमानी लाद्ने परम्परा अन्त्य हुनुपर्छ

xi-jinping-calls-for-equality-and-fairness-in-global-rules

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताएका छन्। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८औँ शिखर सम्मेलनका क्रममा सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै उनले ‘बल नै सही’ भन्ने सोच विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताएका हुन्।

राष्ट्रपति सीले विश्वका सबै देश ठूला वा साना, धनी वा गरिब भए पनि समान रूपमा सम्मानका हकदार रहेको बताए। विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।

उनले वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेको भन्दै चिन्ता व्यक्त गरे। यस्तो अवस्थामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्ने सीको भनाइ छ।

यस्तै, नियमबिनाको विश्व ‘अराजकता र अव्यवस्था’तर्फ जाने जोखिम रहने भन्दै उनले अन्तर्राष्ट्रिय नियम सबै देशको सहभागितामा निर्माण हुनुपर्ने बताए। निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा भएकाले कुनै एक शक्तिशाली देशले मात्रै नभई सबै देशले मिलेर विश्वका नियम तय गर्नुपर्ने उनको धारणा छ।

चिनियाँ राष्ट्रपतिले ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको संयुक्त रूपमा रक्षा गर्नुपर्नेमा पनि जोड दिए। सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको संरक्षण गर्नुपर्ने उनले बताए।

अन्तर्राष्ट्रिय कानुन र नियम सबै देशमा समान रूपमा लागू हुने सुनिश्चित गर्नुपर्ने तथा त्यसलाई दोहोरो मापदण्डबाट मुक्त राख्नुपर्ने सीले बताए। न्याय र निष्पक्षता हरेक देशको चाहना भएकाले विश्वव्यापी नियम कुनै एक शक्तिशाली देशको इच्छाअनुसार नभई सबै देशको सहमतिमा तय हुनुपर्ने उनको जोड थियो।