तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुल्ने

teej-pashupatinath-temple-four-doors-open-3-am

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको जानकारी दिएको हो।

कोषका अनुसार यस वर्षको हरितालिका तीज भदौ २९ गते सोमबार परेको छ। मन्दिर खुलेदेखि नै उत्तर, पूर्व र दक्षिणतर्फका तीन ढोकामा पारदर्शी जाली राखेर दर्शन गर्ने व्यवस्था गरिनेछ। गत वर्षझैँ यस वर्ष पनि विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था नगरिएको कोषले जनाएको छ।

भक्तजनका लागि छुट्टाछुट्टै दर्शन मार्ग

दर्शनार्थीको भीड व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै दर्शन मार्ग निर्धारण गरिएको छ। मित्रपार्क तथा उमाकुण्डतर्फबाट आउने भक्तजनलाई उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश र बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पमा पुर्‍याएर दर्शन गराइनेछ।

गौशाला–जयबागेश्वरीतर्फबाट आउने भक्तजनलाई जयबागेश्वरी, दथुटोल, पाचा गणेश र अन्नपूर्ण भण्डार हुँदै महास्नान घरअगाडि राखिएको अस्थायी आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक र शंकराचार्यमठ अगाडिको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोकाबाट पशुपतिनाथको पश्चिमतर्फको र्‍याम्पमा पुर्‍याइनेछ।

सिनामंगल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटन काउन्टरसँगै रहेको गेटबाट राम मन्दिर, बागमती किनारा हुँदै आर्यघाटको पुल, ब्रह्मनाल र पूर्व ढोकामा राखिएको र्‍याम्पमार्फत दर्शन गराउने व्यवस्था गरिएको छ।

पिङ्गलास्थानतर्फबाट आउने भक्तजनलाई पिङ्गलास्थानको ढोकाबाट चार शिवालय, पञ्चदेवल र वृद्धाश्रम हुँदै दक्षिणतर्फको ठूलो ढोकाअगाडि राखिएको अस्थायी आकाशे पुलबाट सानो ढोकातर्फ लगिनेछ। त्यसपछि चौसठ्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गराई उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूल भट्ट निवासअगाडिबाट फर्काउने व्यवस्था गरिएको छ।

आठ लाइनबाट छिटो दर्शनको व्यवस्था

कोषका अनुसार मन्दिरबाहिर पाँचवटा लाइन रहनेछन् भने मन्दिर परिसर प्रवेश गरेपछि भक्तजनलाई आठवटा लाइनमा विभाजन गरिनेछ। उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन्।

एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने गरी दर्शन प्रक्रिया छिटो बनाउने व्यवस्था गरिएको कोषले जनाएको छ।

तीजमा कडा सुरक्षा व्यवस्था

तीज पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले आ–आफ्नै कमान्ड पोस्ट स्थापना गरी सुरक्षा व्यवस्था मिलाउने भएका छन्।

भकुण्टोलस्थित भण्डारी गुठी घरअगाडि नेपाल प्रहरीको मूल शिविर रहनेछ। पशुपति क्षेत्रका गोरखनाथ, विश्वरूपा क्षेत्र, किराँतेश्वर, गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, कैलाश, मित्रपार्क, जयबागेश्वरी, गौशाला, पिङ्गलास्थान, तिलगंगा, सूर्यघाट, आर्यघाट, भष्मेश्वर घाट, किरियापुत्री क्षेत्र र राम मन्दिरलगायत आवश्यक स्थानमा पिकेट तथा कर्डन स्थापना गरी सुरक्षा व्यवस्था सुदृढ गरिनेछ।

पाकेटमारी तथा अन्य अनियमित गतिविधि रोक्न तीज सुरु हुनुभन्दा दुई दिनअघिदेखि नै सादा पोसाकमा प्रहरी परिचालन गरिने भएको छ। शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर आवश्यकताअनुसार नियन्त्रणमा लिने व्यवस्था मिलाइने कोषले जनाएको छ।

पशुपति क्षेत्र मांस तथा मदिरा निषेधित क्षेत्र भएकाले मांस, मदिरा तथा अन्य लागू पदार्थको बिक्री–वितरण र सेवनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सार्वजनिक सूचना प्रकाशनका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।

पुरुष प्रवेश र पाससम्बन्धी व्यवस्था

तीज महिलाको विशेष पर्व भएकाले विगतमा जस्तै निश्चित कोर क्षेत्रभित्र सामान्यतया पुरुष प्रवेश गर्न नपाउने व्यवस्था कायम रहनेछ। महिला हिंसा हुन नदिन मेला अवधिभर सुरक्षा गस्ती तथा अनुगमन बढाइने कोषले जनाएको छ।

कोषले मन्दिर दर्शनका लागि कुनै पनि प्रकारको पासको व्यवस्था नगरिएको स्पष्ट पारेको छ। पुरुष नित्य दर्शनार्थीले सबै क्षेत्रका दर्शन मार्गका ढोकाबाट बिहान ५ः३० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका–८ बाट जारी गरिएको स्थानीय पासका आधारमा आफ्नो निवासबाट कार्यालय वा कार्यक्षेत्रतर्फ जान तथा साँझ निवास फर्कन पाउने व्यवस्था मिलाइएको छ।

यसैगरी स्वयंसेवा गर्ने संघसंस्थाले तोकिएको कार्यक्षेत्रमा मात्रै स्वयंसेवा गर्नुपर्ने र नेपाल प्रहरीको समन्वय तथा निर्देशनमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ।

अघिल्लो दिनदेखि बागमती नदीपारि राम मन्दिरको दक्षिण छेउमा सञ्चालन गरिने जुत्ता–चप्पल कक्षको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिने कोषले जनाएको छ।