चाडपर्वको मुखमा नयाँ सुन किन्नेभन्दा पुरानो सुन बेच्ने ग्राहक बढे

old-gold-selling-increases-nepal-festive-season

तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाडपर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी अनिश्चितताका कारण उपभोक्ताको व्यवहार परिवर्तन भएको बताएका छन् ।

शाक्यका अनुसार विगतमा चाडपर्वका बेला नयाँ गहना किन्ने चलन बलियो रहे पनि अहिले करिब ७० प्रतिशत उपभोक्ता नयाँ सुन किन्नुभन्दा पुरानो सुन बेच्नतर्फ लागेका छन् । बाँकी करिब ३० प्रतिशत उपभोक्ताले विवाह, सामाजिक संस्कार र पारिवारिक आवश्यकताका कारण मात्रै नयाँ गहना खरिद गरिरहेका छन् ।

तीजदेखि दशैं–तिहारसम्म गहना, मेकअप तथा सौन्दर्य सामग्रीको बिक्री हुने मुख्य समय भए पनि नेपालीहरूको क्रयशक्ति कमजोर भएकाले धेरैले पुरानो सुन बेचेर दैनिक खर्च व्यवस्थापन गर्ने सोच बनाएको शाक्यले बताएका छन् ।

उनका अनुसार अहिले सुनको मूल्य ऐतिहासिक रूपमा उच्च हुनुमा विश्वव्यापी युद्धको वातावरण, आर्थिक अनिश्चितता तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाइरहेको अवस्थाले प्रभाव पारेको छ । यही कारण आगामी दिनमा पनि सुनको मूल्य उच्च रहने उनको अनुमान छ । उनका अनुसार सुनको मूल्य घटेर तीन लाख रुपैयाँ प्रतितोलाभन्दा तल आउने सम्भावना कम छ भने परिस्थिति झन् जटिल भए चार लाख रुपैयाँ प्रतितोलासम्म पुग्न सक्ने आकलन छ ।

शाक्यले मूल्य बढिरहेको अवस्थामा उपभोक्ताले आत्तिएर सुन बेच्नु उपयुक्त नहुने धारणा राखेका छन् । उनका अनुसार मूल्य निरन्तर बढिरहेको अवस्थामा हतारमा बिक्री गर्दा उपभोक्ताले भविष्यमा पाउन सक्ने लाभ गुमाउन सक्छन् । विशेष आवश्यकता बाहेक सम्पूर्ण गहना एकैपटक बेच्ने वा किन्ने निर्णय नगरी बजारको अवस्था विश्लेषण गरेर मात्रै निर्णय लिन उनले सुझाव दिएका छन् ।

उनले नेपाल र भारतबीच सुनको मूल्य अन्तर घटाउन भन्सार दर पुनरावलोकन गर्न सरकारलाई आग्रह गरेका छन् । भारतको तुलनामा नेपालमा सुन महँगो हुँदा खुला सीमाबाट अनौपचारिक कारोबार बढ्ने जोखिम रहेको उनको भनाइ छ ।

पुरानो सुन बेच्न आउने ग्राहकलाई व्यवसायीले तत्काल नगद उपलब्ध गराउन कठिन भइरहेको पनि शाक्यले बताएका छन् । अहिले अधिकांश व्यवसायीले पुरानो सुन बिक्री गर्ने ग्राहकलाई १५ देखि २० दिनको अवधिमा चेकमार्फत भुक्तानी गर्ने व्यवस्था अपनाइरहेका छन् । पुरानो सुन पगालेर शुद्धीकरण गरी पुनः प्रयोग गर्नुपर्ने भएकाले भुक्तानीमा समय लाग्ने उनको भनाइ छ ।

शाक्यका अनुसार अहिले बजारमा पुरानो गहना पर्याप्त मात्रामा संकलन भएको छ । पहिले बजारको करिब आधा आवश्यकता आयातबाट पूरा हुने गरे पनि अहिले करिब ८० प्रतिशत कच्चा पदार्थ पुरानो सुन पुनःप्रशोधनबाट व्यवस्थापन भइरहेको छ ।

सुनसँगै चाँदीको माग पनि औद्योगिक प्रयोगका कारण बढिरहेको शाक्यले बताएका छन् । विद्युतीय उपकरण, सौर्य प्रविधिलगायतका क्षेत्रमा चाँदीको प्रयोग बढ्दै गएकाले आगामी दिनमा यसको मूल्य पनि थप उकालो लाग्ने सम्भावना रहेको उनको भनाइ छ ।

यद्यपि हिराको बजार भने स्थिर रहेको उनले बताएका छन् । प्रयोगशालामा उत्पादन हुने ‘ल्याब–ग्रोन डायमण्ड’को विस्तारले प्राकृतिक हिराको माग प्रभावित भए पनि सुनको विकल्प भने अझै विकसित हुन नसकेको उनको तर्क छ । सुन गहनाका रूपमा मात्रै नभई नेपाली परिवारको सामाजिक सुरक्षा र बचतको माध्यमसमेत भएकाले यसलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने शाक्यले बताएका छन् ।

नेपालमै खारिएको तेजाबी सुनको छुट्टै मूल्य तोक्न माग

नेपालमै परम्परागत रूपमा खारिएको ‘तेजाबी सुन’को छुट्टै मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता रहेको शाक्यले बताएका छन् । बजारमा यस्ता सुनको कारोबार उल्लेख्य रूपमा बढेकाले पहिलेजस्तै यसको छुट्टै मूल्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

शाक्यका अनुसार नेपालमा विगतदेखि नै तेजाब प्रयोग गरेर सुन खार्ने परम्परागत प्रणाली रहेको छ । यसअघि बजारमा विदेशी कम्पनीको हलमार्क भएको ‘छापा सुन’ र नेपालमै खारिएको ‘तेजाबी सुन’को फरक मूल्य तोकिने व्यवस्था थियो । तर पछिल्ला वर्षमा भने छापा सुनकै मूल्य मात्रै निर्धारण हुने गरेको उनले बताएका छन् ।

हाल बजारमा तेजाबी सुनको मात्रा बढ्दै गएको भन्दै नेपालमै खारिएका सुनको पनि छुट्टै मूल्य तोकिनुपर्ने माग व्यवसायीहरूले अघि सारेका छन् । नेपालमा सुन प्रशोधन गर्ने क्षमता रहेकाले स्वदेशमै खारिएको सुनको मूल्यांकन पनि त्यसअनुसार हुनुपर्ने शाक्यको धारणा छ ।

तेजाबी सुनको छुट्टै मूल्य निर्धारण गर्दा बजारमा पारदर्शिता बढ्ने र उपभोक्ताले पनि स्पष्ट मूल्य प्रणाली पाउने उनको विश्वास छ । उनले सुनको कारोबार गर्दा मूल्य बढेको समयमा उपभोक्ताले हतारमा बिक्री वा खरिद नगरी बजारको अवस्था विश्लेषण गरेर मात्रै निर्णय लिनुपर्ने सुझावसमेत दिएका छन् ।