सङ्घीय संसद्का दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ। दुवै सदनका बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको छ।
अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष पेस गर्नेछिन्।
प्रतिनिधिसभाको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव समेत पेस हुने सम्भावित कार्यसूची रहेको छ।
यता, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ।
यसबीच, आज सङ्घीय संसद्अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ।