ताप्लेजुङको छोनासिङ पोखरी पर्यटकको पर्खाइमा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ । लोदेन फाँटको हरियालीबीच अण्डाकार आकृतिमा फैलिएको यो पोखरी यस क्षेत्रको प्रमुख प्राकृतिक पर्यटकीय सम्पदामध्ये एक हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण लोदेन क्षेत्रले पर्यटक आकर्षित गर्ने पर्याप्त सम्भावना बोकेको भए पनि आवश्यक पूर्वाधार र व्यवस्थित प्रवद्र्धनको अभावमा अझै व्यापक रूपमा चिनिन सकेको छैन ।
ताप्लेजुङ हिमाल, पहाड, धार्मिक तथा साहसिक पर्यटनका लागि परिचित जिल्ला हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, धार्मिक आस्थाको प्रमुख केन्द्र पाथीभरा, बुकी फुलले ढाकिएका फाँट तथा विभिन्न प्राकृतिक पोखरीले ताप्लेजुङलाई आकर्षक पर्यटकीय गन्तव्य बनाएका छन् । यिनै सम्भावनायुक्त गन्तव्यहरूमध्ये मिक्वाखोला गाउँपालिका–५ को लोदेन क्षेत्र पनि प्राकृतिक सुन्दरताले भरिएको स्थलका रूपमा रहेको छ ।
हरेक वर्ष यस क्षेत्रमा जडीबुटी सङ्कलन गर्दै आएका मिलन लिम्बूका अनुसार हरियाली घाँसे मैदानबीच रहेको लाम पोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । स्थानीयस्तरमा छोनासिङ पोखरीलाई लाम पोखरी भनेर समेत चिनाउने गरिएको छ । यद्यपि हालसम्म कुनै सरकारी वा अन्य सम्बन्धित निकायले पोखरीको वैज्ञानिक अध्ययन तथा मापन भने गरेको छैन ।
मिक्वाखोला–५ का वडा सदस्य तोप्ला शेर्पाका अनुसार छोनासिङ पोखरीसँग विभिन्न किंवदन्ती तथा स्थानीय कथाहरू जोडिएका छन् । पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न पुग्ने पर्यटकहरू यसको नजिक पुगेर फोटो तथा भिडियो खिचेर फर्किने गरेका छन् । पोखरीको चारैतिर फैलिएको हरियाली, टाढासम्म देखिने हिमाली भू–दृश्य र आकाशमा तैरिएका हिउँजस्ता सेता बादलले यस क्षेत्रको सौन्दर्यलाई थप आकर्षक बनाउने स्थानीयको भनाइ छ ।
नीलो र शान्त पानीसहित चुपचाप फैलिएको पोखरीले उच्च हिमाली प्रकृतिको छुट्टै अनुभूति दिने गरेको छ । पोखरीको शान्त वातावरण, वरिपरिको हरियाली र हिमाली दृश्यका कारण यो क्षेत्र प्रकृतिप्रेमी तथा घुमफिर गर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।
स्थानीय शेर्पा समुदायका अनुसार छोनासिङ पोखरी प्राकृतिक सम्पदा मात्र नभई धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो । यहाँ पुग्ने पर्यटकहरू पोखरीको छेउमा बसेर शान्त वातावरणको अनुभव गर्ने तथा त्यस क्षणलाई तस्बिर र भिडियोमा कैद गरेर फर्कने गरेका छन् । मिक्वाखोला–५ सिम्बुकका स्थानीय पान्दे शेर्पाले पोखरीको सौन्दर्यले मानिसको मनलाई गहिरोसम्म छुने अनुभव सुनाएका छन् ।
उच्च हिमाली भूभागमा रहेको लोदेन क्षेत्रमा हालसम्म स्थायी मानव बस्ती तथा पर्याप्त पर्यटकीय पूर्वाधार विकास भएको छैन । यहाँ पुग्नेहरू बसोबासका लागि याक गोठ तथा भेडी गोठमा निर्भर हुनुपर्ने अवस्था छ । केही स्थानमा समुदायले आफन्तको सम्झनामा निर्माण गरेका पाटी तथा धर्मशालामा रात बिताउन सकिने भए पनि होटल वा होमस्टेजस्ता व्यवस्थित आवास सुविधा उपलब्ध छैनन् । पर्यटकले आवश्यक खाद्य सामग्रीसमेत आफैँ बोकेर जानुपर्ने अवस्था रहेको छ ।
स्थानीय गाइड पान्दे शेर्पाका अनुसार लोदेन तथा लाम पोखरी क्षेत्रको भ्रमण गर्न पर्यटकलाई करिब एक सातासम्म समय लाग्न सक्छ । यसले छोनासिङ पोखरीलाई छोटो समयको भ्रमणस्थल मात्र नभई लामो हिमाली पदयात्रा तथा प्राकृतिक पर्यटनसँग जोड्न सकिने सम्भावना देखाउँछ ।
पछिल्लो समय मिक्वाखोला गाउँपालिकाले लाम पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो देखाउन थालेको छ । पोखरीको वैज्ञानिक अध्ययन, पहुँचमार्ग, आवास तथा आधारभूत पर्यटकीय पूर्वाधार विकास र स्थानीय संस्कृति तथा किंवदन्तीको संरक्षणसहित प्रवद्र्धन गर्न सके छोनासिङ पोखरी ताप्लेजुङको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ ।