बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले दियो १ करोड

nepali-congress-one-crore-flood-relief

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति रहेको थियो । केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूली नदीलगायतका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीका कारण कैयौँ घरपरिवार विस्थापित हुनुका साथै सडक, पुल, सुरुङमार्गलगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

विपद्को अवस्थामा प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कांग्रेसले सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराएको महामन्त्री पौडेलले बताएका छन् । रकम हस्तान्तरण गर्दै उनले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए ।

महामन्त्री पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । सुरुङमा फसेका र अलपत्र नागरिकको उद्धारमा देखिएको ढिलासुस्ती तत्काल सच्याएर उद्धार कार्यलाई तीव्रता दिन उनले सरकारसँग आग्रह गरे ।

पौडेलले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा बाढीबाट भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाउन पनि माग गरेका छन् । उनले राहत वितरणलाई पारदर्शी बनाउन तथा आगामी दिनको समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप चुस्त र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी तथा विस्थापित नागरिकको दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको प्रतिबद्धता महामन्त्री प्रदीप पौडेलले व्यक्त गरेका छन् ।