नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश

nabil-bank-15-80-percent-dividend

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकका अनुसार प्रस्तावित ५ प्रतिशत बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र १०.८० प्रतिशत नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ । उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी नबिल बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसअन्तर्गत २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरिनेछ । बैंकका अनुसार उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिएको हो ।

बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । हाल नबिल बैंकले देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।