पत्रकारको नजरमा भोटेकोशी बाढी : सामाजिक सञ्जालको दृश्यभन्दा फरक छ वास्तविकता
भोटेकोशी बाढी गएको केही घण्टामै प्रभावित क्षेत्रमा पुगेका पत्रकार आशुतोष अर्यालले स्थलगत रिपोर्टिङका क्रममा देखेको विपद्को वास्तविकता सामाजिक सञ्जालमा देखिएका भयावह तस्बिर र भिडियोभन्दा निकै फरक रहेको बताएका छन् । उनका अनुसार बाढीले घर, सडक, पुल र खेतबारीमा क्षति पुर्याएसँगै धेरै परिवारको वर्षौँको मेहनत र जीविकोपार्जनको आधार नै गुमेको थियो । ज्यान जोगिए पनि घरबार र सम्पत्ति गुमाएका प्रभावितमा अब कहाँ जाने भन्ने अन्योल र त्रास स्पष्ट देखिन्थ्यो ।
बाढी गएको दिन भदौ १० गते दिउँसो करिब १ बजे काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रतर्फ निस्किएका अर्यालको टोलीलाई नागढुंगाबाट अघि बढ्दा प्रहरीले जोखिमका कारण अगाडि नजान सुझाव दिएको थियो । तर प्रेस पास देखाएर रिपोर्टिङका लागि आएको जानकारी गराएपछि टोली अघि बढेको उनले बताए । खानीखोला, महादेवबेँसी र गल्छी हुँदै धादिङको बैरेनी बजार पुग्दा सडक लेदोले भरिएको र सामान्य सवारीसाधनबाट अगाडि बढ्न नसक्ने अवस्था रहेको उनले सुनाए । सडक निर्माणमा प्रयोग भइरहेको जेसीबीको बकेटमा बसेर प्रभावित क्षेत्रमा पुगेको टोलीले कतिपय स्थानीयलाई समेत त्यही जेसीबीको सहायताले सुरक्षित स्थानमा ल्याएको थियो ।
अर्यालका अनुसार प्रभावित क्षेत्रमा पुग्दा मानिसहरू डराएर सुरक्षित स्थानतर्फ आउँदै गरेका थिए । कतिपयले बल्लतल्ल ज्यान जोगाएको सुनाउँदै घरमा जमेको बालुवा हटाउन जेसीबीको सहयोग मागिरहेका थिए । धेरैको घर डुबेको, सामान पुरिएको र खेतबारी लेदोले भरिएको थियो । ज्यान जोगिए पनि बस्ने ठाउँ र भविष्यको जीविकोपार्जन कसरी चलाउने भन्ने चिन्ता उनीहरूको अनुहारमा देखिएको अर्यालले बताए ।
नुवाकोटतर्फ अघि बढेपछि त्रिशूली नदीमाथिको पुलमा आफन्तको खोजीमा आएका मानिसहरू पनि भेटिएको उनले बताए । कसैले घर बगेको र आफन्त नभेटिएको भन्दै नदी आसपास खोजिरहेको अवस्था देखिएको उनको अनुभव छ । स्थानीय जनप्रतिनिधि र प्रहरीसँगको कुराकानीबाट माइकिङमार्फत स्थानीयलाई सचेत गराउने तथा जोखिममा परेकाहरूको उद्धार गर्ने काम भएको जानकारी पाएको उनले बताए ।
धादिङ र नुवाकोटको सीमामा पर्ने कोल्पुखोलाको पुलमा भने टोलीले थप जोखिम सामना गर्नुपरेको थियो । बाढीको प्रभावले पुल बाङ्गिएको र सवारीसाधनको आवतजावत रोकिएको अवस्थामा स्थानीयले बाढीले बगाएर ल्याएका काठ तथा ढुंगामुढाको सहायताले जोखिमपूर्ण रूपमा खोला पार गरिरहेका थिए । त्यही जोखिम मोलेर टोली पनि अघि बढेको र फर्किन सकिने हो कि होइन भन्ने त्रास रहेको अर्यालले सुनाए ।
स्थलगत रिपोर्टिङका क्रममा आफूले देखेको सबैभन्दा पीडादायी दृश्य कोल्पुखोला क्षेत्रमै भेटिएका तीनवटा शव रहेको उनले बताए । प्रहरीहरूले सडकको छेउमा प्लास्टिकले छोपेर राखेका शवमध्ये एक जना गर्भवती महिला भएको जानकारी पाएको उनको भनाइ छ । शवको अवस्था देख्दा पत्रकारका रूपमा सूचना संकलन र दृश्य खिच्ने जिम्मेवारीभन्दा मानवताको भावना बलियो भएको उनले बताए । आवश्यक साधन र परिस्थितिको अभावमा चाहेर पनि थप सहयोग गर्न नसकेको त्यो क्षण आफूका लागि अत्यन्त पीडादायी रहेको उनले स्मरण गरे ।
उद्धार र राहतको अवस्थाबारे बोल्दै अर्यालले बाढीको सुरुवाती चरणमा संघीय सरकारको ध्यान मुख्य रूपमा उद्धारमा केन्द्रित भएको आफ्नो अनुभव सुनाए । स्थानीय तहहरूले पनि आफ्नो क्षमताअनुसार राहत तथा अस्थायी व्यवस्थापन सुरु गरेका थिए । गल्छी गाउँपालिकाले बाढी गएको दिन नै कार्यपालिका बैठक बसेर प्रभावितलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ आपतकालीन राहत दिने निर्णय गरेको र बेलकोटगढी नगरपालिकाले घरबारविहीन तथा विस्थापित परिवारलाई विद्यालयमा अस्थायी रूपमा राख्ने तयारी गरेको उनले बताए । तर प्रभावित बस्तीमा राहत पुग्न भने केही दिन लागेको उनको अनुभव छ । कतिपय प्रभावितले सुरुवाती दुई–तीन दिन खानसमेत समस्या भएको र कतिपय गाउँमा पाँचौँ दिनपछि मात्र राहत पुगेको गुनासो गरेको उनले सुनाए ।
उनका अनुसार उद्धार र राहत व्यवस्थापनबीच पर्याप्त समन्वय नदेखिएको महसुस भएको थियो । केन्द्रबाट पठाइएको राहतको वितरणमा स्थानीय संयन्त्रलाई पर्याप्त रूपमा परिचालन गर्न नसकिएको हुन सक्ने उनको बुझाइ छ ।
बाढी प्रभावित क्षेत्रमा सञ्चारमाध्यम पुगेपछि पीडितमा आफ्ना समस्या राज्यसम्म पुग्ने र त्यसपछि सहयोग प्राप्त हुने अपेक्षा रहेको अर्यालले बताए । तर केही पीडितले भने पछिल्लो समय सामाजिक सञ्जालमा भ्यूज र ट्रेन्डका लागि पीडाको प्रस्तुति हुने गरेको भन्दै गुनासो गरेका थिए । कतिपयले सञ्चारकर्मी आफूहरूको समस्या देखाउनभन्दा भ्यूजका लागि आएको र आफूले भनेका कुरा काटेर प्रस्तुत गरिने आशंका व्यक्त गरेको उनले सुनाए ।
सामाजिक सञ्जालको प्रयोगबारे बोल्दै अर्यालले विपद्को समयमा सर्वसाधारणसमेत घटनाको दृश्य खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्तिमा केन्द्रित भएको आफ्नो अनुभव सुनाए । उनका अनुसार यस्तो अवस्थामा पीडितलाई तत्काल सहयोग गर्नेभन्दा घटनाको भिडियो खिचेर पोस्ट गर्ने र त्यसको प्रतिक्रियामा जोड दिने प्रवृत्ति देखिनु चिन्ताको विषय हो । सामाजिक सञ्जालमा बाढीका भयावह दृश्य तत्काल भाइरल भए पनि त्यसपछाडि पीडितले भोगिरहेको वास्तविक जीवन र दीर्घकालीन समस्यामाथि पर्याप्त ध्यान पुग्न नसकेको उनले बताए ।
उनले विपद्को रिपोर्टिङ गर्दा केवल बाढीको दृश्य देखाउनु पर्याप्त नहुने धारणा राखे । कुन परिवारको घर बगेको हो, उनीहरू कति पुस्तादेखि त्यहाँ बस्दै आएका थिए, कति जग्गा थियो, परिवारको जीविकोपार्जनको आधार के थियो र बाढीपछि उनीहरूको आयआर्जनमा कस्तो असर परेको छ भन्ने विषयमा गहिरो रिपोर्टिङ आवश्यक रहेको उनले बताए । उनका अनुसार ‘घर बग्यो’ भन्ने समाचारसँगै त्यो घर गुमाउँदा परिवारले वास्तवमा के गुमायो भन्ने पक्ष पनि बाहिर ल्याउन आवश्यक छ ।
बाढीको प्रभाव व्यक्तिगत रूपमा समेत महसुस गरेको अर्यालले बताए । धादिङकै एउटै विद्यालयमा पढेकी आफूभन्दा दुई ब्याच जुनियर मनिषा रिजालको परिवार बाढीमा परेको र आफूसँगै प्लस टु पढेका बासु आचार्य बाढीको छालमा परेर किनारमा पुग्दै बाँच्न सफल भएको उनले सुनाए । आफ्नै चिनजानका मानिस प्रभावित भएको घटनाले रिपोर्टिङका क्रममा थप भावुक बनाएको उनले बताए ।
प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्न टोलीले निकै कठिन यात्रा गर्नुपरेको पनि अर्यालले बताए । सुरुवाती दुई–तीन दिनमा त्रिशूलीको पुल पार गरेर नदीको पारिपट्टिको क्षेत्रमा करिब १४ किलोमिटर पैदल हिँडेर समेत प्रभावित बस्तीमा पुगिएको उनले सुनाए । हिलो बाटो, रात पर्न थालेको अवस्था र चारैतिरको त्रासबीच पनि प्रभावितको अवस्था बुझ्न आफूहरू अघि बढेको उनको भनाइ छ । प्रभावितहरूमा ‘राज्यले केही गर्दैन कि’ भन्ने डर देखिएको र सञ्चारकर्मी पुगेपछि आफ्नो अवस्था बाहिर आउने अपेक्षा रहेको उनले बताए ।
पुनःस्थापनाका विषयमा अर्यालले सबै बाढीपीडितलाई एउटै ढाँचामा राखेर समस्या समाधान गर्न नसकिने धारणा राखे । घर मात्र क्षति भएका परिवारलाई सरसफाइ, नदी नियन्त्रण र सुरक्षित आवासको व्यवस्था आवश्यक भए पनि घर, जग्गा र रोजगारीसमेत गुमाएका परिवारका लागि दीर्घकालीन योजना आवश्यक हुने उनले बताए । रोजगारी गुमाएका परिवारलाई आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने र घर बनाएर मात्रै पुनःस्थापना पूरा नहुने उनको भनाइ छ ।
त्रिशूली नदीले ल्याएको बालुवा र लेदोले पुरिएका खेतमा भविष्यमा के खेती गर्न सकिन्छ भन्ने अध्ययन गर्नुपर्ने तथा प्रभावित क्षेत्रको आयआर्जन पुनःस्थापित गर्न वैकल्पिक उपाय खोज्नुपर्ने उनले बताए । बाढीका कारण पर्यटन मार्गमा समेत क्षति पुगेकाले वैकल्पिक पर्यटन मार्ग विकास गर्न सकिने सम्भावनातर्फ पनि उनले ध्यान दिनुपर्ने बताएका छन् ।
बाढीले नदी किनारका बस्ती र सडकको जोखिमसमेत उजागर गरेको उनको बुझाइ छ । नदी किनार र सडकको सीमाभित्रै घर तथा व्यवसाय सञ्चालन भइरहेकाले भविष्यमा यस्तै विपद् दोहोरिँदा क्षति अझ ठूलो हुन सक्ने उनले बताए । कुन क्षेत्रमा बस्ती बसाउने, कहाँ व्यवसाय सञ्चालन गर्ने र कहाँ सडक निर्माण गर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको उनको धारणा छ । नदीको घुम्ती र किनारमा सडक निर्माण गर्दा उत्पन्न हुन सक्ने जोखिमलाई समेत योजनामा समेट्नुपर्ने उनले बताए ।
बाढी गएको लामो समयपछि पनि त्रिशूली आसपासका कतिपय क्षेत्रमा नदी कटान जारी रहेको भन्दै अर्यालले थप क्षति रोक्न तत्काल रोकथामको काम आवश्यक रहेको बताए । समयमै नदी कटान नियन्त्रण गर्न सकिए थप घरबारविहीन हुने अवस्था रोक्न सकिने उनको भनाइ छ ।
अर्यालका लागि भोटेकोशी तथा त्रिशूली बाढीको रिपोर्टिङ केवल घटनास्थलका दृश्य संकलन गर्ने काममा सीमित रहेन । उनका अनुसार यो विपद्ले राज्यको उद्धार तथा राहत संयन्त्र, स्थानीय सरकारको भूमिका, सञ्चारमाध्यमको जिम्मेवारी, सामाजिक सञ्जालको प्रयोग र प्रभावितको दीर्घकालीन पुनःस्थापनाबारे गम्भीर प्रश्न उठाएको छ । बाढीले धेरै परिवारको घर, खेत र व्यवसाय मात्र बगाएको छैन उनीहरूको पुस्तौँदेखिको जीवनको आधारसमेत प्रभावित बनाएको भन्दै अबको चुनौती तत्कालीन राहतभन्दा अघि बढेर क्षतिको प्रकृतिअनुसार पुनःस्थापना र भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने दीर्घकालीन योजना बनाउनु रहेको उनले बताएका छन् ।