गृहमन्त्री गुरुङले भने– ‘कुर्सीमा बसेर नेतृत्व खोज्नु गलत युगको सोच हो’

home-minister-sudhan-gurung-disaster-response

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिँदै पुरानो शैलीमा मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने नेतृत्व खोज्नेहरू ‘गलत युग’ मा रहेको र यो पुस्ताबीचको सोचको अन्तर अर्थात् ‘जेनेरेसन ग्याप’ भएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेका छन् ।

उनले पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्ने हो भने आफूहरू अहिलेको डिजिटल युगमा रहेकाले त्यस्तो सोच पुरानो भएको बताएका छन् । गृहमन्त्री गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर सञ्चालनमा रहेको छ र अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेका छन् । उनले फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको दाबी गर्दै पुरानै कार्यशैलीबाट फरक र उत्कृष्ट परिणामको अपेक्षा गर्नेहरूले आफूहरूलाई पनि त्यही पुरानो शैली अपनाउन दबाब दिइरहेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । डिजिटल माध्यमको प्रयोगबाट प्रशासनिक तथा उद्धारसम्बन्धी कामहरू टेबल पछाडि बसेर गरिने परम्परागत शैलीभन्दा छिटो र प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनको दाबी छ ।

आफ्नो भौतिक उपस्थिति कहाँ छ भन्ने विषयमा चिन्ता गर्नुभन्दा कामको परिणाममा ध्यान दिन उनले आलोचकहरूलाई आग्रह गरेका छन् । रसुवामा भोटेकोशी बाढी आएपछि भएको क्षति र त्यसपछिको उद्धार तथा विपद् प्रतिकार्यका क्रममा गृहमन्त्री गुरुङको कार्यशैली र प्रत्यक्ष भौतिक उपस्थितिलाई लिएर राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा प्रश्न उठिरहेका बेला उनले आफ्नो नेतृत्व शैलीबारे यस्तो स्पष्टीकरण दिएका हुन् ।