भोटेकोशी बाढीले चाडपर्वको आपूर्ति प्रभावित हुँदै खाद्यान्न अभाव र मूल्यवृद्धिको जोखिम
भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा दशैँ–तिहार लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ ।
बाढीका कारण तातोपानी र रसुवा नाकाबाट नेपाल भित्रिने ठूलो परिमाणको सामान बाटोमै रोकिएको तथा सयौँ मालवाहक गाडी बगाएपछि आगामी चाडपर्वका लागि आयात गरिएका सामान बजारमा पुर्याउन समस्या देखिएको व्यवसायीहरूले बताएका छन् । तराईसँग काठमाडौं जोड्ने मुख्य राजमार्गसमेत प्रभावित हुँदा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा खाद्यान्न संकट तथा मूल्यवृद्धिको जोखिम बढेको छ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड अवरुद्ध हुँदा काठमाडौं धादिङ हुँदै चितवन तनहुँ कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने सवारीसाधनसमेत प्रभावित भएका छन् ।
नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीका कारण दशैँ–तिहार लक्षित सामान बोकेका करिब दुई सय मालवाहक गाडी बगेका छन् । ती गाडीमा रहेका सामान नष्ट हुँदा तत्काल बजारमा आवश्यक वस्तु उपलब्ध गराउन समस्या हुन सक्ने व्यवसायीहरूको चिन्ता छ । तातोपानी नाका अनिश्चितकालका लागि बन्द भएपछि चीनबाट आयात हुने सामानको ठूलो हिस्सा अब कोरला नाकातर्फ मोड्नुपर्ने अवस्था आएको छ । तर तातोपानीबाट सामान्य अवस्थामा एक दिनमै गाडी आउजाउ गर्न सक्ने भए पनि कोरला हुँदै सामान ल्याउँदा करिब सातदेखि १० दिनसम्म लाग्ने भएकाले आपूर्ति व्यवस्थापनमा थप दबाब पर्ने देखिएको छ । तातोपानी र रसुवा नाकामा भएको क्षतिका कारण ढुवानी लागतसमेत बढेको व्यवसायीहरूले बताएका छन् । यसअघि करिब दुई लाखदेखि सवा दुई लाख रुपैयाँसम्ममा हुने ढुवानी खर्च अहिले तीनदेखि चार लाख रुपैयाँसम्म पुग्न थालेको रामहरी कार्कीले बताएका छन् । ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोग्य वस्तुको मूल्यमा पर्ने देखिएको छ । व्यवसायीहरूका अनुसार बजारमा अहिले नै सामान अभावको संकेत देखिन थालेको छ भने कोरला नाकाबाट सामान ल्याउन समय लाग्नुका साथै पर्याप्त ढुवानी साधनको समेत अभाव रहेको छ । समुद्री मार्गबाट वैकल्पिक रूपमा सामान ल्याउन सकिने भए पनि त्यसका लागि करिब ५५ देखि ६५ दिनसम्म लाग्ने भएकाले दशैँ–तिहारअघि आवश्यक सामान नेपाल भित्र्याउन सम्भव नहुने व्यवसायीहरूको भनाइ छ । स्थलमार्गबाट तातोपानी वा रसुवा हुँदै काठमाडौंसम्म सामान आइपुग्न करिब १२ देखि १३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट आयात गर्दा करिब दुई महिना लाग्ने भएकाले तत्कालको चाडपर्व आपूर्ति समस्याको समाधान समुद्री मार्गबाट गर्न कठिन देखिएको छ ।
बाढीका कारण व्यापारिक क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमानसमेत ठूलो रहेको छ । करिब दुई सय मालवाहक गाडी बगाउँदा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको सामान क्षति भएको अनुमान व्यवसायीहरूले गरेका छन् । नेपालमा चीनबाट आयात हुने सामानको हिस्सा ठूलो रहेकाले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था गर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् । भारत वैकल्पिक बजार भए पनि चीनबाट आयात हुने केही वस्तु समान मूल्य तथा गुणस्तरमा भारतमा उपलब्ध नहुने उनीहरूको भनाइ छ । नेपालमा केही वस्तुको उत्पादन सुरु भए पनि त्यसका लागि आवश्यक कच्चा पदार्थसमेत चीनबाट आयात हुने भएकाले चीनसँगको व्यापारिक मार्गमा आएको अवरोधले आयात तथा उत्पादन दुवै क्षेत्रमा असर पार्न सक्ने देखिएको छ । काठमाडौंको असन बजारमा समेत बाढीपछि सामानको आपूर्ति र मूल्यमा असर देखिन थालेको व्यवसायीहरूले बताएका छन् । असनस्थित एनबी स्टोरका सञ्चालक नरबहादुर महर्जनले पसलमा रहेको पुरानो स्टकबाट मात्रै व्यापार चलिरहेको र नयाँ सामान सहज रूपमा प्राप्त हुन नसकेको बताएका छन् ।
उनका अनुसार घिउ तेल तिलको लड्डु ल्वाङ सुकमेल जिरा काजु तथा किसमिसजस्ता खाद्य सामग्रीको कारोबार प्रभावित भएको छ । नयाँ सामान प्राप्त भए पनि मूल्य बढेको तथा सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित भएपछि चाडपर्वको बजार चहलपहलसमेत घटेको उनले बताएका छन् । सीमित मात्रामा सामान बजारमा आइरहेको र ठूला व्यापारीसँग रहेको स्टकबाट मात्रै खुद्रा व्यवसायीले सामान पाउने अवस्था रहेको उनको भनाइ छ । असनकै खाद्यान्न स्टोरका सञ्चालक साहित्यरत्न तुलाधरले पनि अहिले पुरानै स्टकबाट व्यापार भइरहेको र आयातकर्ताबाट सामान आएपछि मात्रै नयाँ सामान बिक्री गर्न सकिने अवस्था रहेको बताएका छन् । बाढीपछि बजारमा सीमित स्टक बढ्दो ढुवानी खर्च र केही वस्तुको मूल्यवृद्धि देखिन थालेको भए पनि मुख्य व्यापारिक नाका लामो समय अवरुद्ध रहेमा दशैँ–तिहार नजिकिँदै जाँदा आपूर्ति समस्या अझ गहिरिन सक्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । विशेषगरी चाडपर्वका लागि पहिल्यै आयात गरिएका सामानको ठूलो हिस्सा बाढीमा क्षति हुनु बाँकी सामान बाटोमै रोकिनु र वैकल्पिक नाकाबाट सामान ल्याउन बढी समय लाग्नुले नेपालमा चाडपर्व लक्षित आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । व्यवसायीहरूले तातोपानी र रसुवा नाका तथा सडकमार्ग तत्काल सञ्चालनमा ल्याउन वैकल्पिक नाकाबाट सामान ल्याउने प्रक्रिया सहज बनाउन तथा ढुवानीका लागि आवश्यक कन्टेनर र गाडीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
समयमै आपूर्ति व्यवस्थापन हुन नसके दशैँ–तिहारका बेला सामानको मूल्य मात्रै नभई आवश्यक खाद्यान्न तथा उपभोग्य वस्तुकै अभाव हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ । बाढीले व्यापारिक सामानमा मात्रै नभई सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारेको छ । तातोपानी र रसुवा नाकाबाट हुने आयातमा निर्भर राजस्व संकलन प्रभावित हुँदा राज्यको आम्दानीमा समेत कमी आउन सक्ने देखिएको छ ।