भोटेकोशी बाढी : तिब्बती अधिकार समूहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि तिब्बती अधिकारकर्मी तथा वातावरणविद्हरूले चीनसँग सीमापार जलसम्बन्धी सूचना पारदर्शी रूपमा सार्वजनिक गर्न र विपद् जोखिम न्यूनीकरणमा जवाफदेही बन्न आग्रह गरेका छन्।
भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क (ITN) र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाका प्रतिनिधिले तिब्बतको क्यिरोङ क्षेत्रमा भएका हिमताल तथा हिमपहिरोसम्बन्धी घटनाबारे विश्वसनीय सूचना प्राप्त गर्न कठिन भइरहेको बताएका हुन्।
अधिकार समूहहरूले चीनले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई निर्बाध पहुँच दिनुपर्ने मागसमेत गरेका छन्।
सीमापार जलसम्बन्धी सूचना सार्वजनिक गर्न माग
तिब्बत नीति संस्थानअन्तर्गत वातावरण तथा विकास डेस्ककी अनुसन्धानकर्ता धोनदुप वाङ्मोले चीनले नेपाल र भारतजस्ता तल्लो तटीय मुलुकसँग आवश्यक जलसम्बन्धी सूचना पर्याप्त रूपमा आदानप्रदान नगरेको आरोप लगाइन्।
उनले सीमापार नदीको जलस्तर, हिमतालको अवस्था तथा सम्भावित जोखिमसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्नुपर्ने बताइन्।
चीनले आवश्यक सूचना र जोखिमसम्बन्धी तथ्यांक उपलब्ध नगराए भविष्यमा पनि सीमापार क्षेत्रमा यस्ता विपद्का असर दोहोरिन सक्ने उनको भनाइ थियो।
ब्रह्मपुत्रमा चीनको जलविद्युत् आयोजनामाथि पनि चासो
अन्तर्राष्ट्रिय तिब्बत नेटवर्ककी वरिष्ठ वातावरण अनुसन्धानकर्ता लोबसाङ याङ्त्सोले तिब्बतबाट बग्ने ब्रह्मपुत्र नदीमा चीनले निर्माण गरिरहेको ठूलो जलविद्युत् परियोजनालाई भारतका लागि गम्भीर चासोको विषयका रूपमा प्रस्तुत गरिन्।
नेपालमा भोटेकोशी क्षेत्रमा देखिएको बाढीको घटनाले सीमापार नदी व्यवस्थापन र पूर्वसूचना प्रणालीको महत्व अझ स्पष्ट पारेको उनको भनाइ थियो।
उनले सीमापार नदीसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि प्रभावित तथा तल्लो तटीय देशहरूबीच समयमै सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिइन्।
तिब्बती नागरिकलाई सूचना आदानप्रदानमा रोक नलगाउन आग्रह
अधिकार समूहहरूले चीनलाई बाढीसम्बन्धी सूचना सार्वजनिक गर्ने वा विपद्को अवस्थाबारे आफन्तसँग सम्पर्क गर्ने तिब्बती नागरिकलाई दण्डित नगर्नसमेत आग्रह गरेका छन्।
उनीहरूले नेपाल, भारत र बंगलादेशलाई सीमापार जलविज्ञानसम्बन्धी तथ्यांक तथा विपद् पूर्वसूचना समयमै उपलब्ध गराउन चीनसँग माग गरेका छन्।
चीनले आरोप अस्वीकार गर्यो
यसैबीच, चीनले बाढीसम्बन्धी भिडियो सेन्सर गरेको वा विपद्सम्बन्धी सूचना लुकाएको आरोप अस्वीकार गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनको सूचना सार्वजनिक गर्ने प्रणाली खुला र पारदर्शी रहेको दाबी गर्दै विपद्लाई आधार बनाएर चीनमाथि लगाइएका आरोपहरू तथ्यहीन रहेको बताएका छन्।
एएनआई