आइएमई ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा ग्रुपसँग आबद्ध कम्पनीहरूको तर्फबाट १० करोड रुपैयाँ सहयोग गरिएको बताएका छन् । ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।
विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र आम नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । ढकालले विदेशबाट नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने शुल्कसमेत सेप्टेम्बर १० सम्मका लागि निःशुल्क गरिएको जानकारी दिएका छन् । विदेशमा रहेका नेपालीले प्रधानमन्त्री राहत कोषमा सहज रूपमा रकम जम्मा गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म विदेशबाट करिब २० हजार कारोबारमार्फत १६ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भइसकेको छ ।
सेप्टेम्बर १० सम्म करिब ५० हजार कारोबारमार्फत ३० देखि ४० करोड रुपैयाँसम्म रकम रेमिट्यान्समार्फत निःशुल्क रूपमा राहत कोषमा जम्मा हुने अनुमान गरिएको छ । आइएमई ग्रुपबाहेक विदेशमा रहेका साझेदार बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर कम्पनीहरूले पनि राहत कोषका लागि रकम पठाउँदा शुल्क नलिने व्यवस्था गरेको ढकालले बताएका छन् ।
विपद्को अवस्थामा प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार र मृतकको शव व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा बाढीपहिरोका कारण क्षतिग्रस्त सडक, पुललगायतका पूर्वाधारको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनले बताएका छन् । पछिल्लो विपद्का कारण महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै ढकालले आफ्नो अनुभवमा भूकम्प र कोभिड–१९ को समयबाहेक यस्तो ठूलो स्तरको विपत्ति विरलै देखिएको बताएका छन् । प्रभावित नागरिकले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने गरी सरकार, निजी क्षेत्र र आम नागरिक मिलेर सहयोग तथा पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।