कांग्रेसको राष्ट्रिय सम्मेलनका प्रतिवेदन सार्वजनिक, लोकतान्त्रिक एकता र वैधानिकतामा जोड
काठमाडौं । नेपाली कांग्रेसले श्रावण २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनबाट सुझावसहित पारित विभिन्न प्रतिवेदनलाई अन्तिम रूप दिँदै सार्वजनिक गरेको छ। सम्मेलनमा प्राप्त सुझाव, परामर्श र छलफलका निष्कर्ष समेट्न गठित कार्यदलले प्रतिवेदन परिमार्जन गरेपछि पार्टीले सार्वजनिक गरेको हो।
सार्वजनिक प्रतिवेदनमा कांग्रेसले स्थापनाकालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय र संवैधानिक शासनका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरिएको छ। पार्टीका आदर्श र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति पनि सम्मान व्यक्त गरिएको छ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको मानवीय क्षतिप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ। त्यसैगरी, भदौ २४ गते आन्दोलनका नाममा राज्य संरचना, निजी क्षेत्र, निजी सम्पत्ति तथा राजनीतिक दलका कार्यालयमा भएको तोडफोड र आगजनीले लोकतान्त्रिक अभ्यास, संवैधानिक स्थायित्व र नागरिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको प्रतिवेदनमा उल्लेख छ।
पार्टीभित्र देखिएको संगठनात्मक विवाद र कथित विशेष महाधिवेशनको प्रक्रियाले आन्तरिक एकता, लोकतान्त्रिक संस्कार तथा वैधानिकतामा असर परेको कांग्रेसको निष्कर्ष छ। नियमित महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि नबढाउँदा विवाद सिर्जना भएको र त्यसले पार्टीभित्रको मतभेद थप गहिरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
राष्ट्रिय सम्मेलनले जननायक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको निष्कर्ष निकालेको छ। लोकतन्त्रवादी शक्तिबीच संवाद, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ।
कांग्रेसले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकका रूपमा स्वीकार गर्दै सबै नागरिकको धार्मिक स्वतन्त्रताको संरक्षण आवश्यक रहेको जनाएको छ। बदलिँदो समय, परिस्थिति र जनआकांक्षाअनुसार राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन तथा परिमार्जन गर्न सकिने धारणा पनि प्रतिवेदनमा राखिएको छ।
पार्टीको वैधानिकतासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा न्यायिक प्रक्रियाप्रति पूर्ण विश्वास रहेको कांग्रेसले जनाएको छ। स्वतन्त्र न्यायपालिका र विधिको शासनप्रतिको प्रतिबद्धता पनि दोहोर्याइएको छ।
आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार तथा आर्थिक पहुँच विस्तारमा राज्यको भूमिका महत्वपूर्ण हुने र उत्पादन, लगानी तथा रोजगारी सिर्जनामा निजी क्षेत्रलाई प्रमुख साझेदार बनाउने नीति प्रतिवेदनमा उल्लेख छ।
कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा तथा हरित र डिजिटल अर्थतन्त्रलाई आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने कांग्रेसको धारणा छ। युवालाई स्वदेशमै रोजगारी तथा अवसर उपलब्ध गराउने नीति अवलम्बन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
राष्ट्रिय सम्मेलनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसका मूल आदर्शका रूपमा पुनः पुष्टि गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय, समानता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा पार्टी दृढ रहने प्रतिबद्धता पनि प्रतिवेदनमा व्यक्त गरिएको छ।