स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाउने भएको छ। कम्पनीले आगामी भदौ २७ गते आयोजना हुने सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई साधारणसभाबाट अनुमोदन गराउने कम्पनीको तयारी छ। हकप्रद निष्कासनमार्फत कम्पनीको चुक्ता पूँजी बढाउने योजना रहेको छ।
यसैगरी, स्वस्तिक लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रियामा जाने प्रस्ताव पनि साधारणसभामा पेस गर्ने भएको छ। मर्जर तथा प्राप्तिका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत सभामा राखिनेछ।
साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक महिलासहित दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि रहेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावमा निर्णय गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ११ गते एक दिनका लागि शेयर दाखिला खारेज अर्थात् बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी भई मतदान गर्न पाउनेछन्।