गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित मुटु उपचार केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित मुटुरोग उपचार केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार केन्द्रमा आयोजित स्वागत, बधाई, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै निर्देशक अमात्यले केन्द्रले विगतमा गर्दै आएको उत्कृष्ट कामलाई निरन्तरता दिँदै नयाँ विचार, योजना र रणनीतिका साथ अघि बढ्ने बताए।
उनले मुटुरोगका बिरामीलाई थप प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताए।
‘विगत ३० वर्षदेखि चल्दै आएको यो संस्थामा उहाँहरूले राख्नुभएका विचारमा अझै अरू विचारहरू थप्नेछौं। यी विचारहरूले विश्वास जगाउनेछन् र मुटुरोगका बिरामीलाई अझ राम्रो सेवा दिन सकिनेछ,’ उनले भने।
गंगालाल आजको अवस्थामा आइपुग्नुमा चिकित्सक, कर्मचारी तथा अन्य पदाधिकारीको मेहनत र योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अमात्यले सबैको सहकार्यबाट केन्द्रलाई अझ उच्च संस्थाका रूपमा विकास गर्न सकिने बताए।
मुटुरोग विशेषज्ञका लागि गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।
समय परिवर्तनशील हुने उल्लेख गर्दै उनले पूर्व कार्यकारी निर्देशकहरूको योगदानलाई आगामी दिनमा समेत सम्मान गरिने बताए। ‘पद सकिए पनि उहाँहरूको योगदानलाई सधैं कदर गर्दै अगाडि बढ्नेछौं,’ उनले भने।
प्रा.डा. अमात्य गत साउन २२ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।
यसैबीच, कार्यक्रममा पूर्व कार्यकारी निर्देशक रवि मल्लले आफ्नो कार्यकालमा केन्द्रलाई आर्थिक रूपमा सबल बनाउन सफल भएको दाबी गरे। आफू कार्यकारी निर्देशकमा आउँदा मासिक डेढदेखि दुई करोड रुपैयाँसम्म घाटामा रहेको संस्थालाई सोही परिमाणमा नाफामा लैजान सफल भएको उनले बताए।
‘अनावश्यक च्यारिटीहरू रोकेर केन्द्रलाई घाटा नपारीकनै कर्मचारीलाई सुविधा दिइएको छ,’ मल्लले भने।
नवनियुक्त निर्देशक अमात्यलाई बधाई तथा शुभकामना दिँदै मल्लले केन्द्रलाई वर्तमान अवस्थाभन्दा अझ माथि पुर्याउने विश्वास व्यक्त गरे।
गंगालाल आधुनिक कार्डियोलोजी सेन्टरका रूपमा स्थापना भएको उल्लेख गर्दै उनले केन्द्रले देशभर मुटुरोग उपचार सेवामा उदाहरण प्रस्तुत गरेको बताए। तर केन्द्रको मूल उद्देश्य आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने रहेको उनले स्मरण गराए।
‘गंगालाल अर्को एउटा उद्देश्यले पनि स्थापना भएको थियो—कुनै पनि बिरामीले पैसा छैन भनेर उपचार नपाइकन फर्किनु नपरोस्। आजभोलि एक लाख रुपैयाँ डिपोजिट गराउनुपर्ने वातावरण बन्न लागेको जस्तो देखिन्छ, त्यस्तो नहोस्,’ उनले भने।
आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुने अवस्था आउन नदिन उनले नवनियुक्त कार्यकारी निर्देशकलाई आग्रह गरे। केन्द्रमा रहेको कोष आवश्यकतामा रहेका बिरामीको उपचारमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
मल्लले केन्द्रले काठमाडौंमा मात्र सीमित नभई देशका विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए। गरिब तथा विपन्न समुदायसम्म मुटुरोगसम्बन्धी उपचार र विशेषज्ञ सेवा पुर्याउन यस्ता शिविर आवश्यक रहेको उनले बताए।
कार्डियाक अरेस्टका अवस्थामा जीवन बचाउन सीपीआर तालिमलाई समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनले अवकाशपछि पनि सामाजिक तथा च्यारिटी सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा केन्द्रका चिकित्सक, कर्मचारी तथा पदाधिकारीहरूले नवनियुक्त कार्यकारी निर्देशक अमात्यलाई स्वागत तथा बधाई दिएका थिए भने पूर्व कार्यकारी निर्देशक मल्ललाई सम्मानसहित बिदाइ गरिएको थियो।