युवाको पलायनसँगै ताप्लेजुङमा चिराइतो खेतीप्रति किसानको आकर्षण घट्दै

taplejung-chiraito-farming-decline-youth-migration

ताप्लेजुङ । कुनै समय जिल्लाका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको चिराइतो खेती पछिल्लो समय विस्तारै घट्दै गएको छ। बजार मूल्यमा निरन्तर हुने उतारचढाव, वन फँडानीमा कडाइ, उत्पादन लागत बढ्नु, श्रमिकको अभाव र युवाको वैदेशिक पलायनका कारण किसानहरू चिराइतो छाडेर अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक रोजगारीतर्फ आकर्षित हुन थालेका छन्।

मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ शेर्पाले अघिल्लो वर्ष २० मन चिराइतो उत्पादन गरेका थिए। तर, यस वर्ष करिब तीन मन अर्थात् १२० किलो मात्रै संकलन गरे। संकलन गरेको चिराइतो पनि उनले बिक्री गरेका छैनन्। लामो समयदेखि चिराइतो खेती गर्दै आएका शेर्पा अहिले खेती छाडेर काठमाडौं बसाइँ सरेका छन्।

सोही वडाको सिम्बुक गाउँका २८ वर्षीय पाण्डे शेर्पाले पनि चिराइतो खेती गर्न छाडेका छन्। उनका अनुसार चिराइतो खेतीका लागि वन क्षेत्र सफा गर्नुपर्ने भएकाले वन फँडानीमा कडाइ भएपछि खेती विस्तार गर्न कठिन भएको हो। बजार मूल्य स्थिर नहुँदा किसानहरू वैकल्पिक खेतीतर्फ लाग्न थालेका छन्।

युवाहरू रोजगारीका लागि गाउँबाट बाहिरिन थालेपछि खेती गर्ने जनशक्तिको समेत अभाव भएको उनको भनाइ छ। उनका अनुसार गाउँका अधिकांश युवा अमेरिका र फ्रान्सलगायतका देश पुगेका छन्। गाउँमा अहिले थोरै मात्र युवा बाँकी छन् र उनीहरू पनि अवसर पाए बाहिर जाने योजनामा छन्।

फक्ताङलुङ गाउँपालिका–६ किसङवाका केरसिं लिम्बू कुनै समय जिल्लामै धेरै चिराइतो उत्पादन गर्ने किसानका रूपमा परिचित थिए। उनले वार्षिक ६० देखि ८० मनसम्म चिराइतो संकलन गर्थे। अहिले भने उनले चिराइतो खेती छाडेर अलैँची खेती विस्तार गर्न थालेका छन्।

जिल्लामा चिराइतो खेती छाड्ने किसानको संख्या पछिल्लो समय बढ्दै गएको देखिन्छ।

नेपालमा पाइने चिराइतो

पहाडी क्षेत्रमा समुद्री सतहबाट करिब १ हजार ६०० देखि ३ हजार मिटर उचाइसम्म चिराइतो पाइन्छ। चिराइतो अनुसन्धानकर्ता डा. टीपी वराकोटीका अनुसार नेपालका करिब ६० हिमाली तथा पहाडी जिल्लामा यसको उत्पादन हुने गरेको छ।

नेपालमा स्वेर्सिया वंशका ३१ वटा रैथाने प्रजाति पाइने भए पनि व्यापारिक रूपमा करिब नौ प्रजाति प्रयोगमा छन्। तीमध्ये स्वेर्सिया चिराइतो सबैभन्दा प्रभावकारी मानिन्छ र व्यापारमा यसको हिस्सा करिब ९० प्रतिशत रहेको बताइन्छ।

चिराइतो सामान्यतया १ देखि १.५ मिटर अग्लो हुन्छ। यसको पात लाम्चा र चौडा हुन्छन् भने दोस्रो वर्षमा डाँठ र हाँगा विकसित भएर हरियो–पहेंला फूल तथा क्याप्सुल आकारका फल लाग्छन्। डाँठ, पात र जरासमेत तितो हुने चिराइतो विभिन्न औषधिमा प्रयोग गरिन्छ।

उच्च आद्र्रता, लामो मनसुन, कम तापक्रम, हुस्सु–कुहिरो लाग्ने वातावरण तथा पर्याप्त प्राङ्गारिक पदार्थ भएको अम्लीय र दुमट–बलौटे माटोमा चिराइतो राम्रोसँग हुर्कन्छ। हल्का छायाँ पर्ने खोल्सा र पाखा यसको उत्पादनका लागि उपयुक्त मानिन्छ।

चिराइतोको ऐतिहासिक, औषधिजन्य र आर्थिक महत्व ठूलो छ। नेपालमा उत्पादन हुने करिब १५० महत्वपूर्ण जडिबुटीमध्ये चिराइतो शीर्ष पाँचमा पर्ने अनुसन्धानकर्ताहरू बताउँछन्। विश्व बजारमा हुने चिराइतोको मागको करिब आधा हिस्सा नेपाली उत्पादनले पूरा गर्ने गरेको दाबी छ।

औषधीय महत्व

परम्परागत रूपमा ज्वरो, रुघाखोकी, झाडापखाला, वान्तालगायतका समस्यामा चिराइतो प्रयोग हुँदै आएको छ। यसबाट आयुर्वेदिक तथा आधुनिक औषधि उत्पादन गरिन्छ।

विषम ज्वरो, दम, कफ–पित्तसम्बन्धी समस्या, ग्यास्ट्रिक, खोकी, मधुमेह, घाउ–खटिरा, छालाका समस्या तथा पेटका किरालगायतका उपचारमा यसको प्रयोग हुने गरेको पाइन्छ।

सिँचाइ र बेर्ना उत्पादन

चिराइतोको उत्पादन बढाउन नर्सरी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। माटो सुक्न नदिई एक–दुई दिनको अन्तरमा हल्का पानी दिनुपर्छ। झारपात सानो हुँदै नियमित रूपमा हटाउन आवश्यक हुन्छ।

सामान्यतः दुई–तीन सातामा बीउ उम्रन थाल्छ र करिब पाँच सातापछि छापो हटाउन सकिन्छ। एक वर्गमिटर क्षेत्रमा १ हजारदेखि ४ हजारसम्म बेर्ना उम्रन सक्ने भए पनि औसतमा करिब १ हजार २०० बेर्ना पाइने बताइन्छ।

चिराइतो निकासीको तथ्यांक

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लाबाट ६ हजार २० किलो चिराइतो निकासी भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो परिमाण घटेर ५ हजार ४०० किलोमा पुगेको थियो।

आर्थिक वर्ष २०८२/८३ मा भने २० हजार ३२० किलो चिराइतो निकासी भएको कार्यालयले जनाएको छ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५ लाख १३ हजार ८६५ किलो चिराइतो भारततर्फ निकासी भएको थियो। त्यसबाट ५ लाख १३ हजार ८६६ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिएका छन्।

नेपालको अर्थतन्त्र र किसानको आम्दानीमा योगदान पुर्‍याउन सक्ने महत्वपूर्ण जडिबुटी भए पनि बजारको अनिश्चितता, श्रमिक अभाव, वनसम्बन्धी नीतिगत कडाइ र युवाको गाउँबाट पलायनका कारण ताप्लेजुङमा चिराइतो खेती क्रमशः किसानको प्राथमिकताबाट बाहिरिँदै गएको छ।