महिनादिनदेखि मेची राजमार्ग बन्द हुँदा पूर्वी पहाडको जनजीवन प्रभावित

mechi-rajmarg-banda-purbi-pahad-jivan-prabhavit

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ । पहिरो र सडक भासिएपछि इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित यातायात सम्पर्क प्रभावित भएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरूले करिब डेढ किलोमिटर पहिरो प्रभावित क्षेत्र पैदल पार गर्नुपर्ने बाध्यता छ भने बिरामी, ज्येष्ठ नागरिक, बालबालिका र अशक्त यात्रुलाई सुरक्षाकर्मीले स्टेचरमार्फत वारपार गराइरहेका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकसमेत भरपर्दो नहुँदा खाद्यान्न, तरकारी, फलफूल र एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको छ । ढुवानी लागत बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ । सडक डिभिजन कार्यालयले भासिएको सडक पुरेर ग्राभेल गर्ने र अस्थायी संरचना बनाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको भए पनि निरन्तरको वर्षा र जमिन भासिने जोखिमका कारण काम प्रभावित भइरहेको छ ।

स्थानीय तथा व्यवसायीहरूले तत्काल सडक सुरक्षित रूपमा सञ्चालनमा ल्याउनुका साथै राजदुवालीको स्थायी पुनर्निर्माण र वैकल्पिक सडकको पूर्वाधार सुधार गर्न माग गरेका छन् ।