पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानमा सरकार गम्भीर रहेको दाबी

tourism-major-basis-for-nepals-overall-development-minister-paudel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण पर्यटनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए ।

मन्त्री पौडेलले हवाई टिकटमा लगाइएको भ्याट, आईएटीए सम्बद्ध व्यवसायीको अधिकार, कमिसन तथा एजेन्सी डेबिट मेमो (एडीएम)का विषयमा मन्त्रालय गम्भीर रहेको बताए । तत्काल भ्याट हटाउन नसकिए पनि आगामी वर्ष तार्किक निष्कर्षमा पुर्‍याउने गरी गृहकार्य भइरहेको उनको भनाइ छ । पर्यटन ऐन संशोधनका क्रममा निजी क्षेत्रका सुझाव समेट्नुपर्नेमा जोड दिँदै उनले एड्भेन्चर टुरिजम र आरोग्य पर्यटनजस्ता महत्वपूर्ण विषय विधेयकमा छुटेको बताए ।

उनले नेपालमा पर्यटनसम्बन्धी अध्ययन हुने सरकारी संस्था नाथमलाई थप प्रभावकारी बनाउँदै सातै प्रदेशमा विस्तार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहको अध्ययन सञ्चालन गर्न निर्देशन दिइएको पनि उनले बताए । नेपाल पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै बोर्डको लगानीलाई पूर्वाधार तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित गर्ने धारणा राखे ।

मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था दयनीय रहेको भन्दै निगमलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजानुपर्ने बताए । युरोपेली संघले नेपाली हवाई सेवा प्रदायकलाई हवाई सुरक्षा सूचीमा राखेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले सुशासनलाई समृद्धिको पहिलो आधारका रूपमा अघि बढाउने र निजी क्षेत्रमैत्री नीति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।